प्रिय विराटनगर,
म तिम्रो सुन्दरताको हरेक दिन फरक काया देख्छु
म तिम्रो विराट स्वरुपको हरेक दिन फरक छायाँ देख्छु
के तिम्रो भव्यता सेल्फी पुल मात्र हो ?
के तिम्रो दिव्यता कुनै झरी जाने गुलाफको फुल हो ?
के तिम्रो दिव्यता सेल्फी सडक मात्रै हो ?
के तिर्म्रो रमरणियता शृंगार गरिएको तडकभडक मात्रै हो ?
तिम्रो सुन्दरता वस्तु मात्रै हो ?
हैन विराट विराटनगर ,
तिम्रो दिव्यता हस्पिटल चोकको वरिपरि घुमिरहेको बिरामी कुरुवाको आशा हो
हरेक बिहान काममा लम्किने हजारौं मजदुरको जिन्दगीको भरोसा हो
तिम्रो सुन्दरता हजारौं विद्युतीय रिक्सा हुन्
जो कुनै कुनै रुपमा कार्बन उत्सर्जन कम गरिरहेछन्
र तिनै रिक्सामा हिड्ने हजारौं मानिसका दु:ख-सुखका कहानी हो
हरेक दिन जोश जागरले कलेज जाने हजारौं युवाको जवानी हो
तिम्रो विराट मनोहरता काली माताको करुणाको जिन्दगानी हो
बनसखन्डी महादेवको सम्पन्नताको नादानी हो
म त्यो सहिष्णुताको कसरी व्याख्या गरौं
जहाँ हिन्दुलाई चोट लाग्दा मुस्लिमलाई दुख्छ
जहाँ अल्लाहको मस्दिज र हनुमानको मन्दिर एक अर्को सगै बोलिरहेछन
मानौ कि अस्तित्वको परम सत्य मन-मगजमा घोलीरहे छन्
प्रिय विराटनगर ,
के विराट राजाको इतिहास मात्रै तिम्रो कथा हो ?
भविष्यका देवकोटा र आइन्स्टाइनहरु सिंघिया खोलामा पौडी रहेछन
हरेक बिहान त्यहीँ खोलाको पुल वारपार हजारौं कथाहरु हिडिरहेछन
अटोरिक्सामा बसेर रानी तिर हजारौ कविताहरु दौडिरहेछन
र आर्थिक मन्दीले ग्रस्त दिनहरुमा पनि
हजारौं व्यवसायी आशाका साथ् निराशा सग भिडिरहेछन
त्यो विराट दिव्य सौन्दर्यको म कसरी व्याख्या गरौ ,
जहाँ विश्वकर्मा पुजामा पुरा शहरले औजार र यन्त्रको सम्मान गर्दछ
जहाँ दुर्गा पुजामा शहर पुरा दुर्गामय हुन्छ
र कृष्ण जन्माष्टमीमा कृष्णको मुरलीको आदिम धुन सुनाउछ।