म जिउदै जिउदो छु प्रिय
वर्षौ अगाडी स्वाश्वनली काटन पुगेछु
म आँखाहरुले श्वास फेर्दैछु
मौन ओठहरुसँग नरुने आँखाहरु साटन पुगेछु
म ओठले संसार हेर्दैछु
तिम्रो स्वतन्त्रता बेचिएको हैन
सुरक्षासँग साटिएको हो
तिम्रो बाटो लम्बिएको हैन
मेरो बाटो छोटिएको हो
बाढीमा जमिन काटिएको हैन
प्राकृतिक डोरी बाटिएको हो ।
र,
म फेरि फेरि याद आउनेछु प्रिय
भोलीका भयानक वर्षाती रातहरुमा
भ्रमले अस्मिता लुटेका चक्रवाती प्रभातहरुमा
तिमीले अथाहै टिपेका वर-पिपलु पातहरुमा
परिवर्तनिय समयका चक्रिय पात्राहरुमा
समयातित हजुरआमाका थोत्रा झुत्रा मजेत्राहरुमा
तमाम अविश्वास अनि तिरस्कारले सुसज्जित कात्राहरुमा
तिमी नहेरिएका तस्बिर हेर्दै जाउ
हरेक मान्छे मरेर बाचेको छ कतै
नफोरिएका पर्खाल फोर्दै जाउ
हरेक मृत्युले जीवन साचेको छ कतै !!