विराटनगर । विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको फ्लाइट नम्बर ७१० मा दुई यात्रुबीच झगडा भएको दृष्य बाहिरिएको छ । बुधबार साँझ ४ः३० बजे काठमाण्डौंका लागि उडेको विमानमा आर्थिक लेनदेनको कारण झगडा भएको थियो ।
‘गोरखा घर भएका एकजनाले काठमाण्डौंमा घर भएका मानिसलाई रकम दिनु पर्ने रहेछ । गोरखालीले दिएको चेक बाउन्स भएपछि इटहरीमा जग्गा रहेको भन्दै सँगै आएका रहेछन् ।’ जहाजमा रहेका एक प्रत्यक्षदर्शीका अनुसार जग्गा देखाउने भन्दै इटहरी आएपछि भागेका गोर्खाली र काठमाण्डौंका नागरिक फर्कने बेला जहाजमै भेट भएका थिए । यता इटहरीमा जग्गा छ भनेर भरोसा पारेपनि नभएपछि पैसा लिनुपर्ने आक्रोशित थिए । त्यसमा पनि झुक्याएर ल्याएर भागेपछि दुःख पाएको मनस्थितिमारहेका थिए । तर, संयोगले फर्कने बेलामा एउटै जहाजमा भेट भएपछि सामान्य भनाभनबाट कुटाकुट उन्मुख भएको थियो ।
विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि बुद्ध एयरले ती दुई यात्रुलाई काठमाडौंस्थित विमानस्थलको सुरक्षा निकायलाई जिम्मा लगाएको थियो । विमानस्थल सुरक्षा निकायले ती यात्रुलाई थप कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशालालाई बुझाएको बुझिएको छ ।
बुद्ध एयरले घटनाको बारेमा बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएको थियो । ‘गैरसैनिक हवाई उडान ऐन २०१५’ र ‘नागरिक उड्डयन सुरक्षा नियमावली २०७३’ अनुसार उनीहरुलाई कारबाही हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
विमानस्थल सुरक्षा भड्किने गतिविधि गरेमा, फ्ल्याइटको सुरक्षालाई चुनौती हुने र फ्ल्याइटको नियम पालना नगर्ने यात्रुलाई सोही कानुन अनुसार कारवाही हुने कानुन रहेको छ ।