कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक

<span class='c1'>कोशी प्रदेशका मुख्यमन्त्री र</span> <span class='c2'>मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक</span>

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ती विवरण मुख्यमन्त्री कार्यालयको वेभसाइटमा उल्लेख गरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुझाएको सम्पत्ती विवरणमा आफ्ना दाजु दिपक कार्की र आफ्नो नाममा झापा गौरादह १ मा कठ्ठा १० धुरमाबनेको दुई तल्ले पक्की घर उल्लेख छ । गौरादह ३ मा ३ कठ्ठामा बनेको पक्की घर र टहरा तथा श्रीमती अन्जना पाण्डेको नाममा ललितपुर महालक्ष्मी नगरपालिका ४ मा १ करोड ४० लाखमा किनेको २३२ र २८६ वर्गमिटर जग्गा रहेको उल्लेख गरेका छन् ।

यस्तै ६ तोला सुन, १० तोला चाँदी देखाइएको विवरणमा नगद नरहेको उल्लेख छ । श्रीमती अन्जना पाण्डे कार्कीको नाममा लिभरपुुल एजुकेसन नेटवर्क प्रालि मा २१ लाख ३८ हजार ७ सय, आफ्नै नाममा ड्रिमल्याण्ड हाउजिङमा १० लाख र सहिद मेमोरियल अस्पतालमा १ लाख ५० हजार रुपैयाँको शेयर रहेको उल्लेख गरिएको छ। भने , महालक्ष्मी नगरपालिकास्थित घरजग्गा खरिद गर्दा लिएको ९० लाख ऋण पनि देखाएको छन् भने अघिल्लो विवरणमा उल्लेख गरेको सभ्भावी सहकारी संस्था लि. नयाँ बानेश्वरको ३ लाख रुपैयाँ ऋण तिरेको देखिएको छ ।

२०१२ मोडलको सेन्ट्रो कार २०७० सालमा २३ लाखमा खरिद गरेको र उक्त कारको लोन चुक्ता भएको उल्लेख छ । यस्तै झापामा गौरादह कृषि तथा पशुपंक्षी विकास फर्म ३ लाखमा २०७३ सालमा स्थापना गरेर संचालनमा रहेको पनि उनको विवरणमा उल्लेख छ ।

तिलकुमार मेन्याङ्बो

खानेपानी, सिंचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूले बुझाएको सम्पत्ती विरणमा ताप्लेजुङको पाथीभरा याङ्वरक २ मा पैतृक सम्पत्ती रहेको उल्लेख छ । यस्तै फुङलिङ ४ मा ५ रोपनी ३ आना श्रीमतीको नाममा रहेको र इटहरी ६ मा १६ धुर जग्गा रहेको उल्लेख छ । उक्त जग्गा तलबबाट खरिद गरेको उल्लेख गरिएको छ । उनले बुझाएको विवरणमा ७ तोला सुन, विभिन्न बैंक खातामा ३ लाख ८९ हजार ५८३ रुपैयाँ नगद रहेको उल्लेख छ । चारवटा कम्पनीमा १० कित्ताको दरले ४० कित्ता शेयर रहेको सम्पत्ती विवरणमा उल्लेख गरेका छन् ।

भक्ति प्रसाद सिटौला
उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाले बुझाएको सम्पत्ती विवरणमा झापा विर्तामोड ७ मा विभिन्न कित्तामा गरेर ३० कठ्ठा ५ धूर जग्गा रहेको उल्लेख गरेका छन् । उल्लेखित सम्पूणर् जग्गा पैतृक सम्पत्ती रहेको बताइएको छ ।
५० तोला सुन र ५ सय तोला चाँदी, ३० लाखको कार र २ लाख ५० हजारको होण्डा मोटरसाइकल रहेको उनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ ।

जीवन आचार्य
पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यको ललितपुर, विराटनगर तथा मोरङको बुढीगंगामा घर तथा जग्गा देखाएका छन् ।
उनको नाममा ललितपुर सुनकोठी ९ (क) को ७०४ कित्ता नम्बरमा ९ आना र १२८१ कित्ता नम्बरमा १ आना २ पैसा जग्गा रहेको र उक्त जग्गामा साढे दुई तले पक्की घर रहेको उल्लेख छ । उक्त सम्पत्ती ३६ लाखमा खरिद गरेको र प्राप्तीको स्रोत व्यवसाय र पैतृक रहेको विवरणमा उल्लेख छ ।
यस्तै विराटनगर महानगरपालिका १ (ख) ३१७८ कित्ता नम्बरमा १५ धुर जग्गा मा साढे दुई तले पक्की घर रहेको उल्लेख छ । उक्त घरजग्गा व्यवसाय पैतृक सम्पत्तीबाट १३ लाख ५० हजार मा खरिद गरिएको विवरणमा उलेख छ ।

यस्तै मोरङको साविक हात्तीमुढा गाविस वडा नम्बर ४ मा व्यवसायीक आम्दानीमार्फत २६३० वर्गमिटर जग्गा खरिद गरेको, साविक हात्तीमुढा २ नम्बर वडामा १९४७ वर्गमिटर जग्गा पैतृक सम्पत्ती मार्फत प्राप्त गरेको विवरणमा उल्लेख छ ।
यस्तै हात्तीमुढाकै २ (क) मा २०३१.७१ वर्गमिटर जग्गा व्यवसायीक आम्दानीबाट ३ लाखमा खरिद गरेको पनि उल्लेख छ । २० तोला सुन र ५० तोला चाँदी पैतृक सम्पत्तीको रुपमा रहेको उल्लेख गरेका आचार्यले ४५ लाख बैंक मौज्दात रहेको विवरण पेश गरेका छन् ।
यस्तै एनस्याट प्रा.लि. काठमाडौंमा ३३ प्रतिशत शेयर ३० लाखमा र जेएमडी ग्रुप अफ कम्पनी काठमाडौंमा ५० प्रतिशत शेयर ५० लाखमा खरिद गरेको पनि उल्लेख छ । उक्त शेयर हात्तीमुढाको जग्गा विक्री तथा लाइफ कम्प्युटर प्वाइन्टको व्यवसायबाट आम्दानी गरेको उल्लेख छ । यस्तै प्रभु बैंक लैनचौर शाखाबाट ५ लाख रुपैयाँ र दुहबी ८ का ओम थापाबाट ८० लाख रुपैयाँ ऋण लिएको पनि विवरणमा उल्लेख छ । उनको ४१ लाखमा खरिद गरेको हुण्डाइ क्रेटा रहेको पनि उल्लेख छ ।

दुर्गाप्रसाद चापागाई

भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईले बुझाएको सम्पत्ती विवरणमा श्रीमती इन्दीरा कार्कीको नाममा झापा विर्तामोड- ३ मा १ कठ्ठा जग्गा, मोरङ सुन्दरहरैंचा १ मा १ विगाहा १० कठ्ठा जग्गा रहेको उल्लेख छ । उक्त जग्गा जागिर तथा व्यापारको आम्दानीबाट किनेको विवारणमा उल्लेख छ ।

मोरङ सुन्दरहरैंचाको जग्गा कृषि फर्म संचालनका लागि सामूहिक रुपमा खरिद गरिएको उल्लेख भए पनि विवरणमा समूहको नाम उल्लेख छैन । ३ तोला सुन, ५ तोला चाँदी र विभिन्न बैंकमा गरेर १ लाख ८७ हजार रुपैयाँ बैंक मौज्दात रहेको उल्लेख गरेका छन् । चापागाईंले अपर खोरङ खोला जलविद्युत् आयोजनामा आफ्नो र श्रीमतीको नाममा १.२५ प्रतिशत शेयर र अपर सोलुमा पनि ०.४८ प्रतिशत शेयर रहेको सम्पत्ती विवरणमा उल्लेख छ ।
उनले इष्टमित्र र आफन्तजनबाट १ करोड २० लाख रुपैयाँ ऋण लिएको पनि विवरण उल्लेख गरेका छन् ।
‘घर बनाउन, जग्गा खरिद गर्न, शेयर खरिद गर्न र चुनाव लड्न’ को लागि ऋण लिएको विवरणमा उल्लेख छ । आफ्नी श्रीमती इन्दीरा कार्कीको नाममा एउटा स्कुटर २ लाखमा खरिद गरेको विवरणमा उल्लेख छ ।

बुद्धिकुमार राजभण्डारी

सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले सार्वजनिक गरेको विवरणमा काडमाठौं ३२ नम्बर वडामा १३७ वर्गमिटर जग्गा ४६ लाख ५० हजारमा २०५८ सालमा खरिद गरेको छ । सोलुखुम्बुको सोलुदुधकुण्डको ६ नम्बर वडामा विभिन्न कित्तामा गरी १०६९२.५० वर्गमिटर जग्गा पैतृक सम्पत्ती रहेको उल्लेख छ ।
३ तोला सुन, १० लाख ७६ हजार नगद बैंक रहेको उल्लेख गरेका छन् । उनको विभिन्न कम्पनीमा ५६ हजार ३५० थान शेयर रहेको उल्लेख छ । सोलुखुम्बु ग्रुपमा ३० हजार कित्ता र बेनी हाइड्रोमा २० हजार, सोलु हाइड्रोमा ५ हजार कित्ता शेयर रहेको विवरणमा उल्लेख छ । उनले २० लाख रुपैयाँ ऋण देखाएका छन् । उनको साथमा २८ लाखमा खरिद गरेको टाटा सुमो र २४ लाख ५० हजारमा खरिद गरेको ट्याक्टर, २ थान मोटरसाइकल र १ थान स्कुटर रहेको उल्लेख छ ।

निर्मला लिम्बू

स्वास्थ्यमन्त्री निर्मला लिम्बूले बुझाएको सम्पत्ति विवरणमा ताप्लेजुङ फुङलिङ ६ र ललितपुरको सानो हात्तीवन जग्गामा घर रहेको छ ।
झापामा पनि जग्गा रहेको सम्पत्ती विवरणमा उल्लेख छ । उनको २२ तोला सुन रहेको र ३५ तोला चाँदी रहेको उल्लेख गरिएको छ । सुन चाँदी भने अलैंची व्यवसाय र उद्योग मार्फत भएको आम्दानीले खरिद गरेको उनले विवरणमा उल्लेख छ । एउटा स्कुटर आफ्नो नाममा रहेको उल्लेख गरिएको छ । व्यवसायीक क्षेत्रमा युमा कपडा उद्योग पनि रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्