–गणेश घिमिरे ‘मार्मिक’
दार्शनिक विचार र चिन्तनयुक्त प्रस्तुतिभित्र युवा युवतीबीचको प्रेमाशक्ति, शिक्षक र अभिभावकीय भूमिकाको उद्घोषण, हाम्रो सामाजिक बुनोट र विशेषता, सामाजिक विकृति र विसङ्गतिको उजागरण, शिक्षक तथा विद्यार्थीको कर्तव्यको बखान र मनोवैज्ञानिक चित्रण, यथार्थको उद्घाटन “सोइसोइला” उपन्यासको प्राण हो । यिनै कुराहरूलाई सिलसिलेवार रूपमा विभिन्न शीर्षकका माध्यमबाट उनेर उपन्यासकार घिमिरेले सोइसोइला उपन्यासको औचित्य र अस्तित्व पुष्टि गर्न खोजेका छन् । प्रस्तुति सरल र सहज ढङ्गले बगेको छ । भाषागत सरलता, मिठास र अपनत्वभावले उपन्यासलाई पठनीय बनाएको छ । प्रस्तुतिमा सरलता र मिठास यस उपन्यासको अर्को विशेषता बनेको पाइन्छ ।
–“लतिकाले मेरो अनुहारमा टुलुटुलु हेरेर सुनी । आँखिभौँ खुम्च्याएर सुनी । कहिले आँखा चिम्लिएर सुनी । कहिले ला...मो स्वास तानेर सुनी । कहिले मुख बङ्ग्याएर सुनी ...।”
–“बाँच्नलाई दुःख बिर्सनुपर्छ क्यार !”
–“त्यसै टोल्हाएर बस्नु चिन्ता हो, एकान्तसेवन गर्नु चिन्तन हो र मानसिक तनावबाट मुक्ति पाउने माध्यम हो ।” जस्ता दार्शनिक अभिव्यक्तिको मार्मिक शैलीले सम्वादलाई सार्थकता प्रदान गरेको छ ।
–“जिउँदो मान्छेले आँखा झिम्क्याउँछ, उनले पनि आँखा झिम्क्याए । मैले पनि आँखा झिम्क्याएँ । जिउँदो मान्छे हाँस्छ,, मुसुक्क मुस्कुराउँछ । उनी मुस्कुराए । म पनि मुस्कुराएँ । संसारका मान्छेले आँखा झिम्क्याएका छन्, मुस्कुराएका छन् । कसले रोक्न सक्छ ? कसले छे्क्न सक्छ ?” जस्ता सामान्यझँै लाग्ने तर मानवीय स्वभावको विशिष्टता दर्शाउने अभिव्यक्तिले उपन्यासको शैलीलाई विशिष्टिकृत गरेको पाइन्छ । उपन्यासमा प्रणयको उपस्थितिले कथानकलाई रोचक र भावुक बनाउन मद्दत गरेको पाइन्छ । प्रेम पवित्र र उच्च भावनात्मक कुरा हो भन्ने तथ्यलाई पुष्टि गर्न म पात्र आफु द्वितीय भएर पनि आफ्नी प्रेमिका लतिका प्रथम भएको हेर्न चाहन्छ ।
उपन्यास मूलतः शैक्षिक वातावरणमा केन्द्रित रहेको छ । उपन्यासमा ‘विद्यालय राम्रो हुन विद्यार्थीको परीक्षाको नतिजा (अङ्क) मात्र उच्च भएर पुग्दैन, केटाकेटीहरू विद्यालय जान रमाए भने विद्यालय राम्रो; उनीहरूको मुहारमा हाँसो र व्यवहारमा सुधार देखियो भने विद्यालय राम्रो’ भन्ने यथार्थ र सटिक परिभाषा उपन्यासमा प्रस्तुत गरिएको छ भने विद्यालयमा को–अर्डिनेटर (संयोजक) को अहम् भूमिकालाई पनि संकेत गरिएको छ ।
उपन्यासमा यत्रतत्र प्रस्तुत दार्शनिकता र मनोवैज्ञानिक संवादले उपन्यासकारको मनोवैज्ञानिक चेतलाई उजिल्याएको पाइन्छ ।
उपन्यासकारले शिक्षकहरूप्रतिको मानिसको भक्तिभावलाई भगवान्को भक्तिभावसँग तुलना गरेर शिक्षकको आत्मसन्तुष्टि र निरीहता दुबैलाई भगवान् ज्ञानी र नरिसाउने स्वभावका हुन्छन् भन्ने कुरा एकैसाथ विद्यार्थीसँगको सम्वादको माध्यमबाट देखाउन खोजेका छन् (पृष्ठ ६९) । उपन्यासकार स्वयम् पनि शिक्षक भएको कारण शिक्षण पेसा र शिक्षण प्रवृत्तिको यथार्थ चित्रण यस उपन्यासमा पाइन्छ । उपन्यासमा मनोवैज्ञानिक शिक्षण विधिको राम्रो विश्लेषण छ । असल शिक्षकको विशेषता र कर्तव्य बारे प्रकाश पारिएको छ ।
बालबच्चालाई अभिभावकको सामीप्यबाट टाढा होस्टेलमा राखेर पढाउँदा उनीहरूमा पर्ने नकारात्मक प्रभाव र पारिवारिक सभ्यता एवम् संस्कारबाट हुने वञ्चितिकरणका बारेमा उपन्यासले सन्देश प्रवाह गरेको छ । घरको वातावरण बालबच्चामा पर्ने हुँदा घरको वातावरण स्वच्छ र हार्दिकतापूर्ण हुनुपर्ने कुरामा जोड दिइएको छ । अभिभावकले सन्तानको मनोविज्ञान बुझेर व्यवहार गर्न नसक्दा सन्तानमा उत्पन्न हुने नकारात्मकता कति भयावह हुन्छ भन्ने कुराको उद्घोष उपन्यासले गर्न खोजेको देखिन्छ ।
समग्रमा उपन्यास सन्देशमूलक छ । शिक्षाक्षेत्रमा काम गर्नेहरूका लागि त झनै उपयोगी, रोचक र पठनीय रहेको कुरामा भने शंका छैन ।