आईसीसी क्रिकेट विश्वकप छनोटको सुपर सिक्समा स्कटल्यान्डलाई चार विकेटले पराजित गर्दै नेदरल्यान्ड्स १२ वर्षपछि आईसीसी क्रिकेट विश्वकपमा छनोट भएको छ । नेदरल्यान्ड्सले पछिल्लोपटक सन् २०११ को विश्वकप खेलेको थियो ।
यो खेलसँगै छनोटबाट विश्वकप खेल्ने दुई टिमको टुंगो लागेको छ । छनोटबाट शीर्ष स्थानमा रहेको श्रीलंकाले भारतमा हुने विश्वकपमा स्थान बनाइसकेको छ ।
छनोटको सुपर सिक्समा श्रीलंकासँगै वेस्ट इन्डिज, ओमान, जिम्बाब्वे, स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् । नेदरल्यान्ड्सले जिम्बाब्वे र वेस्ट इन्डिजजस्ता टेस्ट राष्ट्रलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो । अब सुपर सिक्सको अन्तिम खेलमा श्रीलंका र वेस्ट इन्डिजले खेल्न बाँकी छ ।
बिहीबार जिम्बाब्वेको बुलावाओस्थित क्विन्स स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको २७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२.५ ओभरमा ६ विकेट गुमाएर भेट्टाउदै विश्वकपमा स्थान पक्का गर्यो।
नेदरल्यान्ड्सको जितमा बास डे लिडेले १२३ रन बनाए । उनले ९२ बलमा सात चौका र पाँच छक्का प्रहार गरे । विक्रमजित सिंहले ४०, साहिक जुल्फिकरले ३३, कप्तान स्कट एडवार्डले २५, म्याक्स ओ‘डाडले २० र वेस्ली बरेसीले ११ रन जोडे ।
स्कटल्यान्डका मिचेल लिएस्कले दुई विकेट लिए । ब्रान्डन म्याकमुलम, वार्क वाट र क्रिस ग्रेभेसले समान एक विकेट लिए ।
त्यसअघि टस हारेपछि ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २७७ रनको योगफल खडा गरेको थियो ।
स्कटल्यान्डका ब्रान्डन म्याकमुलेले १०६ रन बनाए । कप्तान रिची बेरिङ्टनले ६४ रन थपे । टोमस म्याकिनटोसले ३८, क्रिस्टोफर म्याकब्रिडले ३२ र क्रिस ग्रेभेसले १८ रन जोडे ।
नेदरल्यान्ड्सका बास डे लिडेले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका लिडेले ५२ रन बनाए । र्यान क्लेइनले दुई विकेट लिँदा लोगन भान बीकले एक विकेट हात पारे ।