-राज आयुष
जितेर पुरस्कृत हुनु भन्दा बढी मैले आफुलाई हार पछि समालेको छु,
यहाँ पहलहरुको मुल्यांकन भएको कमै देखिन्छ,
आजकाल मिहिनेत मात्र परिणामको लागि गरिन्छ जुन स्वभाविक पनि हो,
बस् ,फरक यति हो कि...
तिमी 'म' जस्तो छौ?
आफ्नो जितको सपना देख्ने!
या तिमी 'म' जस्तो छौ?
अरुलाई हराउने सपना देख्ने,
अरु माथिको आफ्नो जितको सपना देख्ने।
कसैले सम्झाइ देउन यो मनलाई पिडा प्रार्थनाले बढन बढ्न थालेको छ अचेल।
उपहार स्वरुप यो प्रश्न छ,
"तिमी आफ्नो जितको लागि प्रार्थना गर्छौ या मेरो हारको?"
म पनि सधैं यहि प्रश्नमा अल्झिन्छु।
किनकि म पुर्ण छैन र हुन पनि सक्दिन,
मेरा इन्द्रियहरु मेरो वसमा छैनन् ,
रिस,राग,घमण्ड ,दु:ख,एक्लोपन,
म भित्र सब भावनाहरु छन !
म जिन्दगी जिउन चाहन्छु मात्र जिन्दगीको बारेमा सोच्न होइन जिन्दगी काटन होइन,
म माथिको दुनियाको प्रतिक्रिया सुनेर अनि दुनियाले बुझेको म,
म जस्तो हो कि होइन छुट्याएर म आफ्नो अस्तित्व गुमाउन चाहान्न,
त्यसैले म मेरा कविताहरुमा इमान्दार हुन्छु।
मेरो बुवाले मेरो जिन्दगीको कमाई मेरो छोरा हो भन्नु हुँदा,
मैले कमाएको धन मेरो आर्थिक कमाई मलाई व्यर्थ लाग्छ र जवान छोराको मृत्यु देखेको आमाबाउका ती 'आँखा' अनि 'गुमाउनु' भन्ने शब्द मलाई पर्यायवाची लाग्छ।
आमाले भनिरहने कुरा 'दु:ख मा नआत्तिनु अनि सुखमा नमातिन्नु',
सुखमा म ती दु:ख का दिनहरु सम्झिन्छु र आँखा रसाएर आउँछ र आफू कम्जोर भएको बेला म ऎनामा भएको साथीलाई सम्झाउछु कि आफुलाई कम्जोर नसोच मैले तिमिलाई दु:ख मा मुस्कुराएको देखेको छु।
त्यसैले,अब आत्महत्या गर्ने आँट छैन म मा,
तिमी प्रार्थनामा मेरो दुर्घटना माग्नु।