विराटनगर । खुल्ला सीमा क्षेत्रमा हुने तस्करीमा बहुआयमिक जुक्ति लगाउने गरिएको छ । कहिले भन्सार परिसरबाटै अवैध सामान भित्र्याउने गरिन्छ । कहिले विभिन्न साधनको प्रयोग हुने गरेको छ । तर, विराटनगर रानी–जोगबनी नाका आसपास बनेका संरचनामा भने घरमै ढोका राखेर तस्करी गराउने बाटो सिर्जना गर्ने गरेको पाइएको छ । नेपाल–भारत दशगजा नजिक व्यापारका लागि निर्माण गरिएका संरचनामा ‘तस्करी ढोका’ राख्ने गरेको पाइएपछि स्थानीय प्रशासनले त्यसलाई बन्द गर्न निर्देशन दिएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल नेतृत्वको टोलि बुधबार सीमा क्षेत्रको अनुगमनमा पुगेको थियो । अनुगमनमा रानी–जोगबनी नाका अन्तर्गत विराटनगर–१६ को एक नम्बर ढाट आसपासका पसलबाटै अवैध रुपमा सामान भित्र्याउने गरेको पाइएको थियो । संयुक्त अनुगमनका क्रममा सीमामा सानासाना घरटहरा निर्माण गर्ने, त्यसमा चियानास्ता तथा मदिरा समेतको कारोबार हुने गरेको पाइएको थियो । मोरङका प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार यस्ता पसलले भारततर्फ ढोका राखेर सामान भित्र्याउन सहजीकरण गर्ने गरेको भेटिएको हो ।
खुल्ला सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका सबै उपाय अपनाउँदा समेत रोक्न स्थानीय प्रशासनलाई मुस्किल पर्ने गरेको छ । प्रहरी उपरीक्षक कटुवालका अनुसार दशगजा नजिक बनेका घरबाटै लागुऔषधदेखि अवैध सामान समेत भित्र्याउने ‘तस्करी बाटो’ निर्माण गरिएको सूचनापछि अनुगमन गरिएको हो । अनुगमनका क्रममा रानी–जोगबनी नाका आसपासमा बनेका घरमा नेपालबाट प्रवेश गरेपछि भारत निस्कन सकिने स्थिति छ । त्यसका लागि घरमै भारततर्फ ढोका राखेर बनाइएको छ । अनुगमनका क्रममा यसरी भारततर्फ समेत ढोका राखेर बनाइएका पसलहरुमा अवैध रुपमा भित्र्याइएको दाल, चामल, तेल, साबुन जस्ता दैनिक आवश्यकताका सामाग्री समेत बरामद गरिएको छ ।
त्यति मात्रै नभई सीमा क्षेत्रका खुलेका साना होटलमा मदिराको कारोबार अधिक हुने गरेपनि यसको दर्ता नभएको पाइएको छ । भारतबाट आउने र सहजै मदिरा खाने बानी परेकाहरुका लागि लक्षित साना होटलहरुको दर्ता नभएको पाइएपछि त्यसलाई दायरामा ल्याउने प्रक्रिया समेत थालिएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीका अनुसार बुधबार स्थानीय प्रशासन समेतको संयुक्त अनुगमनमा देखिएका कैफियतमा बिहीबार नै पुनः संयुक्त अनुगमनमार्फत दायरामा ल्याउने कार्य गरिएको हो ।
बिहीबार गरिएको संयुक्त अनुगमनका क्रममा ५० वटा पसलको कागजात हेरिएको थियो । जसमा अन्तःशुल्क लाग्ने चारवटा पसलको दर्ता भेटिएन । एउटा पसलले दर्ता भएरपनि प्रमाणपत्र नराखेको पाइएपछि त्यसलाई कारवाही स्वरुप दुईहजार जरिवाना भराइएको प्रमुख कर अधिकृत उप्रेतीले जानकारी दिनुभयो । दर्ता नभएकाहरुलाई दर्ताको प्रक्रियामा ल्याइएको छ ।
स्थानीय प्रशासनले सीमा क्षेत्रमा भएका घरमा भारततर्फ राखिएका चोर ढोकाहरु बन्द गर्न सातदिनको निर्देशन समेत दिएको छ । प्रहरी उपरीक्षक कटुवालका अनुसार इटाको पर्खाल भएका घरमा समेत भारततर्फ फलामको ढोका राखेर तस्करलाई बाटो दिइने गरेको भेटिएको छ । त्यस्तोमा ढोका हटाएर इटाको पर्खाल नै लगाउन सातदिनको म्याद दिइएको छ । मोरङमा ६३ किलोमिटर खुल्ला सीमा क्षेत्र छ । स्थानीय प्रशासनले दशगजा क्षेत्रमा निर्माण भएका संरचना हटाउने तयारी समेत गरिरहेको छ ।