काठमाडौँ । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो दोस्रो खेलमा आज (सोमबार) भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दै छ ।
श्रीलंकाको कोलम्बोस्थित प्रेमादासा स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको नेपाल सुधारिएको प्रदर्शन गर्दै पुनरागमनको प्रयासमा हुनेछ ।
पाकिस्तानसँगको खेलमा सोमपाल कामीले ७५ रन बनाउनुबाहेक अन्य खेलाडी सस्तैमा पभेलियन फर्किएका थिए । सो खेलमा नेपाली ब्याटरले सर्ट बल खेल्न संघर्ष गरे ।
भारतविरुद्धको खेलअघि मुख्य प्रशिक्षक मोन्टी देसाईले सर्ट बल विश्वका सबै ब्याटरलाई खेल्न कठिन हुने भन्दै त्यसमा नेपाल फरक नहुने प्रतिक्रिया दिए । सर्ट पिच बल आफ्नो टिमको कमजोरीका रुपमा पहिचान गरेको र अभ्यासमा सुधार्ने प्रयास गरिरहेको प्रशिक्षक मोन्टीको भनाइ छ ।
उनले यो चुनौतीलाई अवसरका रुपमा लिँदै विपक्षी तीव्र गतिका बलरबाट अधिकतम सर्ट बलको अपेक्षा गरेको पनि बताए । खेलाडी परिवर्तनको सम्भावनाबारे सोधिएको प्रश्नमा भने उनले सबै खेलाडी प्लेइङ इलाभेनका लागि योग्य रहेको जवाफ दिए ।
समूह बी मा भारत दुई अंकसहित शीर्ष स्थानमा र सामान अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा छ । तेस्रो स्थानको नेपाल र अन्तिमको यूएई अंकविहीन छन् । अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न नेपाललाई जित्नै पर्ने दबाब छ ।