-निर्मला देवि तिम्सिना
हिराले हीरा रेट्छ,आकार दिन्छ
फलामले फलामकै आकार दिन्छ
म आफ्नो आकारको प्रतिक्षामा छु
मलाई पनि त आफ्नैले रेटेका थिए
हिजो
आँखा अगाडिबाटै रेटेका थिए
पछाडिबाट नरेट्ने कुरै भएन
त्यसैले सधैं म सजग रहन्छु
अँगाल्दै छुरा धस्लान् भनेर
कारण
ऊ दलित भएर रेटियो
म महिला भएर रेटिएँ
जहाँ जातियताको विरोध थियो
लैगिङ्क विभेदको विरोध थियो
हामीमा मित्रभाब जरूर थियो
मेरा वस्त्र च्यातिएका थिएनन्
तर पनि मेरो चरित्रलाई रेटे
मेरो निर्दोष आवाजलाई रेटे
आफ्नैले
मेरो विगत मात्र रेटेनन्
वर्तमान रेटे ,सुन्दर भविष्य रेटे
बुझि नबुझी मेरो जिन्दगी रेटे
मात्र प्राण रेटेनन् ,अरु सबै रेटे।
हीरा र फलाम झैं
म आफ्नो आकारको प्रतिक्षामा छु
मलाई पनि त आफ्नैले रेटेका थिए ।