विराटनगर । नयाँ सरकार गठनका लागि कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समय सकिन अब २ घण्टा मात्रै बाँकी छ ।
जसअनुसार सत्ता गठबन्धन दलले मुख्यमन्त्रीमा पुनः नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्ने बताइएको छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार थापालाई नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरिएको हो ।
राप्रपा सकारात्मक नभएसम्म आफू मुख्यमन्त्रीमा दाबी नगर्ने बताउदै उनले भने,‘अहिले उद्धव थापा नै मुख्यमन्त्रीमा दाबी गर्नुहुन्छ, म राप्रपाले नसघाएसम्म मुख्यमन्त्रीमा दाबी गर्दिन ।’
असार २१ गते दलको ४६ र सभामुखको बेग्दै हस्ताक्षर सहित थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर मुख्यमन्त्रीको नियुक्त असंवैधानिक भएको भन्दै नेकपा एमाले असार २२ गते सर्वोच्च अदालतमा पुगेको थिए ।
सर्वोच्च अदालतले साउन ११ गते मुख्यमन्त्री थापाको नियुक्त बदर गर्दै संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्ने परामादेश दिएको थियो । सोही आदेश अनुसार प्रदेश प्रमुखले सरकार गठनका लागि आज बेलुका ५ बजेसम्मको समय दिइएको हो ।
फोटो:फाइल