तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा भारतले वेस्ट इन्डिजलाई २०० रनको फराकिलो अन्तरले पराजित गर्दै सिरिज २-१ ले जितेको छ। भारतले वेस्ट इन्डिज विरुद्ध लगातार १४ औं सिरिज जितेको हो। यसअघि भारतले टेस्ट सिरिज १-० ले जितेको थियो।
क्यारेबियन भूमिमा वेस्ट इन्डिज विरुद्ध भारतको यो सर्वाधिक फराकिलो जितसमेत हो। यसअघि भारतले वेस्ट इन्डिजलाई२०२२ मा ११९ रनले हराएको थियो। पोर्ट अफ स्पेनमा भएको खेलमा भारतले टस हारेर पहिले ब्याटिङ गरेको थियो।
निर्धारित ५० ओभरमा भारतले ५ विकेट गुमाएर ३ सय ५१ रनको उच्च स्कोर बनायो। जवाफमा वेस्ट इन्डिज ३५.३ ओभरमा १ सय ५१ रनमा समेटियो। भारतका इशान किशन प्लेयर अफ द सिरिज घोषित हुँदा शुभमन गिल प्लेयर अफ द म्याच भए। पहिले ब्याटिङ गरेको भारतका लागि तीन खेलाडीले अर्धशतकीय इनिङ खेलेका थिए। पहिलो विकेटका लागि इशान किशन र शुभमन गिलले १४३ रनको साझेदारी गरे। गिल ८५ रनमा आउट हुँदा किशन ७७ रनमा पेभिलियन फर्किए।
त्यस्तै, कप्तान हार्दीक पाण्ड्या ७० रनमा आउट हुँदा सन्जु स्यामसनले ५१ रन बनाएका थिए। सूर्यकुमार यादव ३५ रनमा आउट भए। वेस्ट इन्डिजका लागि कुनै पनि बलरले गतिलो प्रदर्शन गर्न सकेनन्। रोमारियो सेफर्डले २ विकेट लिँदा अलजारी जोसेफ,गुडाकेश मोटाइ र यनीक कारिसले समान १-१ विकेट लिए।
१ सय ५२ रनको उच्च लक्ष्य लिएर मैदानमा उत्रिएको वेस्टइन्डिज खराव प्रदर्शनको सिकार भयो। ५० रन जोड्दा ६ विकेट गुमाएको वेस्ट इन्डिजले ७५ रनमा सातौं विकेट गुमायो। यद्यपि पछिल्लो क्रम केही सम्हालिने प्रयास गरे पनि फराकिलो हार टार्न भने सकेनन्।
दोहोरो स्कोरका रूपमा अलिक अथनाजिले ३२ रन बनाए। त्यस्तै, १० औं नम्बरमा ब्याटिङका लागि आएका गडाकेश मटाइले ३९ रनको अविजित इनिङ खेल्नु सर्वाधिक रह्यो।
त्यस्तै, अलजारी जोसेफले २६ तथा यानिक कारिसले १९ रन बनाए। भारतका लागि सार्दुल ठाकुरले ४ विकेट लिँदा मुकेश कुमारले ३ विकेट लिए। त्यस्तै, कुलदिप यादवले २ विकेट लिँदा जयदेव उन्नादकटका नाममा १ विकेट रह्यो।