-भेषराज पोखरेल
भौतिक शरिर मात्र यहाँ छ मन त नेपाल मै छ । आज बेलायत बसाईको २५ औं दिन, जतिसुकै अलंकृत जीवनशैली भएपनि आफ्नै गाउँघर, आफ्नै देश अनि आफ्नै संस्कृति प्रिय लाग्ने, मन अमिलो भएको छ । आँखा धमिलो भएको छ । धेरै कमाउने र स्थापित हुनेहरू पनि खिन्नताको नरमाइलो अनुभूतिमा बाँचेका देखिन्छन्।
संघर्षरतहरूको दुःख पीडा त झन् बयान गरिसाध्ये छैन। किनेको खुसी र वास्तविक खुसीको तुलना गर्नु पनि मुर्खता रहेछ। हरेक मानिसको काम अनुसारको आम्दानी छ अनि आम्दानी अनुसारको खर्च व्यवस्थापन पनि भईरहे कै छ तरपनि अनुहारमा स्वाभाविक चमक देखिन्न। हाँस्न मन लाग्दा हाँस्न फुर्सद छैन, रुन मन लाग्दा आँखालाई नै कब्जियत भए जस्तो आँसु झर्न मान्दैन।
घरि देश याद आउँछ घरि आफ्नो सुन्दर परिवेश याद आउँछ। धेरैको मनोभाव बुझ्ने कोसिस गरियो, सबैको एउटै प्राथन छ, आफू दलदलमा भासिए पनि आउने पुस्ताले देश छोड्नु नपरोस्। टिभीमा हरबखत नेपाल देखिन्छ। चर्चा हरबखत गाउँघर कै हुन्छ। मैले बस्न नपाए पनि मेरा आफन्तका लागि देश बस्न योग्य बनोस्। भोको पेट बोकेर कुनै नेपालीले रुँदै देश छोड्छु नभनोस्।
यहाँको तुलनामा एक चौथाइ आम्दानी र दोब्बर परिश्रम भएपनि आफ्नै देश फर्किन पाए हुन्थ्यो। छैन भनौँ भने सबैथोक छ। छ भनौँ भने अभाव मात्र अनुभूत भैरहन्छ। अब त आफ्नै घरआँगनले पनि चिन्दैनन् होला। साथीसँगीहरूले पनि अपरिचित जस्तै व्यवहार गर्ने होलान्। चौतारीका वरपीपलले पनि बटुवा मात्रै ठान्ने होलान्। चिया दोकानका माइला बाले पनि चस्मा पुछेर मात्रै चिन्नुहुन्छ होला। मेरो प्यारो देश, मेरो रमणीय परिवेश किन किन बिरानो हुँदै छ। अब त त्यहाँको धूलो माटोले पनि बिर्सिसक्यो होला। साँझ अबेरसम्म साथीहरूसँगै खेलेको बाटोले पनि बिर्सिसक्यो होला!
दुःख कति लाग्छ भनी साध्ये छैन। एकोहोरो फर्किन मात्रै मन लाग्छ तर जीवनयापनको आधार कतै कुनै अँध्यारोमा कुनामा पनि फेला पर्दैन। त्यहीँ हिंसा, त्यही कोलाहल, सिर्जनाका फूलहरूलाई पनि आगो ओकल्न सिकाउने अपराधीहरूको पार्टी नामको गिरोह, यस्ताले देशमै भएकालाई त विदेशीका हातमा बेचिरहेछन् भने फर्केर जानेले के आश गर्नु!
यी प्रश्नहरू अधिकांश प्रवासीहरूका ओठमा झुण्डिरहने गरेको पाइयो। सन्तानलाई विदेशको अन्जान समाजको जिम्मा छोडेर केही दिनभित्र हामी फर्किँदै छौँ। हामी फर्किनु त के मुटुका टुक्राहरूलाई पराय भूमिमा छोडेर खोक्रो शरीर मात्रै लिएर आउँदै छौँ। तरपनि आशा मरेको छैन। केही बर्ष विदेशको आवहवामा आफूलाई समाहित गरेर केही सीप अनि केही दक्षता हासिल गरी मेरा सन्तानलाई पनि आफ्नै माटोमा नयाँ व्यवसायिक अभियान शुरु गराउने कुरालाई हामीले आफ्नो साझा विचार बनाएका छौँ।
केही ढिलै भएपनि यिनीहरूले देशभित्रै आफ्नो सिपलाई उर्जामा परिणत गर्ने कुरामा हामी ढुक्क छौँ! अबको छैटौं दिनमा सन्तानसँग अलग्गिनुको अस्थायी पीडा र आफ्नो मनमुटु गाँसिएको प्यारो भूमिमा पाइला राख्न पाउने अभूतपूर्व खुसीको कल्पना गर्दै बिदा हुँदै छु।
धन्यवाद!