-वसुन्धरा चौहान
ती पर उडिरहेको समुह भन्दा
धेरै पछाडि
सकि नसकि उडिरहेकी घाइते चरी हुँ म
हो घाइते चरी हुँ म
समयले कैले नपुरिने मुटु भरी घाउ दिएको छ
त्यसमाथि परिस्थितिको गुलेलीले
बाध्यताका मट्याङ्ग्रा चलाएको छ।
पिडाहरुले बिछिप्त
हृदय बोकेर उडिरहेछु।
यो निलो गगनमा
सगैँ उडेका साथी भन्दा धेरै पछाडी छु म
हिम्मत नभएको पनि हैन
त्यो समूह भन्दा अगाडि पुग्ने
तर सोचे जति सजिलो नहुने रहेछ
कति बेला यी पखेटाबाट प्वाँख झर्ने हुन्
अनि म भुँईमा पछारिने हुँ थाहा छैन।
उड्नुछ
उडिरहनु छ
गन्तव्य तिर
किनकी
एक्लि भएपनी मैले भर्खरै गुडँमा छोडेर
आएका बचेरा म पक्का आउँछु भन्ने
आँसमा मुख आ गरेर पर्खिरहेछ्न
म आउने बाटो हेर्दै
घाउको चोट भुल्नपर्छ
मैले बचेरा सम्झेर
मलाई दुख्नु हुदैन
मेरा प्वाँख रगतमा लट्पटिनु हुदैन
मेरो शरीर गलेर यी प्वाँख झर्नु हुदैन
कदापि मैले हरेश खानु हुदैन।
स्वार्थीहरुको भिडमा म नहुँदा
कसरी जिउलान् मेरा बचेरा
म कता कता कति घुमे तर
दुनियाँदारी बुज्न सकिन
ती बचेराका त पखेटामा प्वाँख पलाएकै छैन
कतै मेरा बचेराले
दुष्टको भोकको सिकार हुनु पर्ने त हैन?
सोच्दै उडिरहेछु
सहयोग , सान्तवना दिनुको साटो
मेरो लाचारिको खिल्ली उडाउँदै
उडिरहेका साथी आफन्तको पछी पछी।
म कुशल हुदाँ मेरा अघि पछी उड्ने
ती आफन्तले कोल्टे फेरेकाछ्न्
साथीसङ्गि सहयोग गर्नुपर्छ
भनेर मुख बटारेर गए
ती सिकारी ,
मेरा दुश्मन र
आफन्त उस्तै भएकाछ्न्
विश्वास गरेकाले घात गरेकाछ्न्
दु:ख पिडामा आखिर हुने
त एक्लै रहेछ नि!
मैले पहिले बुज्न सकेकी भए
आज यति पीडा हुने थिएन
खैर ढिला भएपनी बुजेकी छु
धन्य छौ,
आफन्तहरु,साथीहरु यति धेरै
शिक्षा, ज्ञान अन्जानमा दिएकोमा
चाहेर पनि म तिमीहरु
जस्तो बन्न सकिन
मैले स्वार्थको सम्बन्ध बनाउन सकिन
म बिक्न सकिन
दुई जिब्रे बन्न सकिन
आफ्नो स्वाभिमान,
इमान्दारिता बेच्न सकिन।
म घाइते भएर के भयो र ?
पछाडी मात्र भएको हो
तपाँईहरु आफ्नो मात्र हो
आकाश नठान्नुहोश्
मित्रहरु,
आफन्तहरु
यहि आकाशमा छु
अझै हिम्मत हारेकी छैन
मन भरी पीडा
आखाँ भरी
आसुँ बोकेर मुस्कुराउदै
ढिलै भएपनी गन्तब्मा पुग्नेछु
यदि फेरि कुनै गुलेली चलेन भने।