नाग पञ्चमी पर्व मनाइयाे

<span class='c1'>नाग पञ्चमी</span> <span class='c2'>पर्व मनाइयाे</span>

मणिराम दाहाल
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ९ स्थित सलकपुरमा रहेको नागदेवी स्थान मन्दिर सेवा समितिको आयोजनामा यस बर्षको नाग पञ्चमी पर्व मनाइएको छ ।

नाग पञ्चमीकाे अवसरमा सलकपुरको नागदेवी मन्दिरमा नागको पूजा गर्ने श्रद्धालु भत्तजनहरूको साेमवार बिहानै देखि बर्षाद्काे झरी सहेर घुइँचो लागेको थियाे । नाग पञ्चमीको अवसरमा जीवित नागको दर्शन र पूजा आराधनाको व्यवस्था मिलाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काले बताए । उनले नाग पञ्चमीको अवसरमा नागको पुजा ,अराधना , रुद्रीपाठ , भजन किर्तन साथै प्रसाद ग्रहण लगायतको कार्यक्रम भक्तजनको उल्लासमय उपस्थितिमा गरिएको जानकारी दिए ।

सुन्दरहरैँचामा रहेको नागदेवी मन्दिरमा पूजापाठ गर्ने भक्तजनको चहलपहल बर्सेनी बढ्दै गएको छ। याे स्थान धार्मिक तथा पर्यटकीय क्षेत्रकाे रूपमा रहेकोले यसकाे थप विकासका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने सराेकारवालाहरू बताउँछन् । सलकपुरकाे नागदेवी मन्दिर १ कठ्ठा जग्गा भन्दा बढी क्षेत्रफलमा फैलिएको छ । दान गर्ने सहयाेगीदाताहरूका कारण करोडौंकाे संरचना निर्माण भएको छ । विशाल शिवजीकाे मृति र नागकाे प्रतिमाले आर्कषण बढाएको स्थानीयहरू बताउँछन् । यहाँ आज नाग पञ्चमी पर्वकाे अवसरमा स्व. राजकुमार खड्काकाे स्मृतिमा परिवारबाट मन्दिरलाई विशाल तामाकाे त्रिशूल प्रदान गरि ढ-याइएकाे छ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी पर्व मनाउँने गरिन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमास अनुसार भदौमा यो पर्व परेको हो । नाग पञ्चमीको अवसरमा काठमाडौं उपत्यका साथै पूर्वकाे सुनसरी,मोरङ,झापा लगायत देशभरका नागदह, कुण्ड तथा नाग स्थानमा विशेष रूपमा पूजाआजा गर्ने गरिएको छ । सर्पकाे राजा नागको सम्मानका साथ यस दिन गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाउने चलन रहेको छ ।प्रकृतिमा भएका बिषालु पदार्थलाई नाग, सर्प लगायतका जीवले शोषण गरी मानव लगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको सुन्दरहरैँचा ७ निवासी युवा पण्डित तुलसीशरण अधिकारीले जानकरी दिए । उनले पर्यावरण शुद्वीका लागि नागकाे महत्त्व भएकोले नागपञ्चमीपछि हिउँद प्रवेश भएर वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरू हुने उल्लेख गरे ।

नागपञ्चमीमा वैदिक परम्परा अनुसार घरको मूलढोकामा नागको तस्बिर टाँसी पूजा अर्चना गर्ने चलन रहिआएको । मूल ढोकामा नागको तस्बिर टाँस्दा वर्षभरी घरमा सर्प, खजुरा तथा बिच्छी लगायतका जीवले दुःख नदिने तथा अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको सुन्दरहरैँचा ८ निवासी पण्डित सूर्यप्रसाद दाहालले बताए ।

वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक जानकारहरू बताउँछन् । नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला प्रिय मानेर लगाएको पाहिन्छ ।विष्णु भगवान् जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्छन् । शिव र विण्णु दुवै भगवानलाई नागका रूपमा मान्ने गरिन्छ ।

अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्काेटक र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँस्ने प्रचलन रहिआएको छ। संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले शिरमा धारण गरेका हुन्छन् । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यता छ । नाग पञ्चमीकाे दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने तथा नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता रहेको धर्मिक जानकारहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्