-देवराज तामाङ
जहाँ अन्धकारले आशाको आकाश ढाक्नेछ
म त्यहाँ आस्थाको दियो जलाउनेछु
जहाँ घृणा र आवेगले मानवताको प्रकाश रोक्नेछ
म त्यहाँ प्रेमको डोरी बलियो बनाउनेछु
मेरो जन्मदिनमा मसँग ठुला सपनाहरु छैनन
गहिराईबाट उठेको छु उच्चाईको मोह छैन
मसँग कुनै अवास्तविक कल्पनाहरु छैनन
म मनलाई बुद्ध र चित्तलाई शुद्ध बनाउनेछु
छालहरू जस्तै जिन्दगीका परिक्षाहरुमा ठोकिए
दु:ख र पिडामा प्रभातको चट्याङ जस्तै गर्जिए
समयको पात्रामा जन्म र मृत्यु बिचको यात्रामा
कर्मलाई सारथी ठानेको छु आत्माको गीतामा
नियतीले धेरै पटक उठायो र गिरायो
कोशीको प्रवाह झैँ उतार-चढ़ावमा स्थीर रहनुछ
हिलोमा फुलेको कमल झैँ बाच्नु छ
विकृति र विसंगतीको कोलाहलमा धीर रहनुछ
ब्रह्माण्डको थिएटरमा जबसम्म जिन्दगी चलिरहन्छ
एउटा अटुट संघर्षको दिप म भित्र जलिरहन्छ
म त निश्चित समयको लागि आएको हु साथी
समयले 'माया'को अनन्त खेल खेलिरहन्छ
मेरो जन्मदिनमा साथी,
मसँग ठुला सपना छैनन
उडेर नवग्रह छुने कल्पनाहरु छैनन
मानवताका निम्ती मलाई बाच्नु छ
करुणाकै लागि भनि मृत्यु साच्नु छ।