सुजता लिम्बु
विराटनगर । एक वर्ष अगाडी छिमेकी आन्टीको छोराको विवाहमा सरिक हुुन पुगेकी थिए । अन्य समयभन्दा त्यो दिन आन्टीको हाउभाउ र अनुहार नै बेग्लै महशुस गर्न सकिन्थ्यो । श्रृंगारले पोतिएको अनुहार, गहना र रातो साडीले सजिएकी उनी कुनै मोडल भन्दा कम लग्दैन थिइन् ।
विवाहको घर, पाहुना स्वागत गर्नु र विदा गर्नुमा व्यस्त देखिएकी आन्टी घरीघरी उनकै दौतरीहरुसँग गफिन पनि भ्याई हाल्थिन् । गफैगफमा आन्टीकी साथीले भन्दै थिइन्,‘एउटा छोरो थियो, फुलजस्ती दुलही भित्र्याउ, अब नाती पाएपछि तिमिलाई आनन्द हुन्छ ।’ खित्का छोडेर हाँस्दै आन्टीले साथीको भनाइलाई समर्थन जनाउँदै भन्दै थिईन् ‘स्वर्ग पुग्ने थिए नि।’
त्यसो त आन्टीले बुहारी भित्र्याएको एक वर्ष वितिसक्यो । सन्तान जन्माउने योजनामा छोराबुहारी छैनन् । केही वर्ष आ-आफ्नो करियर र पढाई सकेर सन्तान जन्माउने योजना बनाएका उनीहरुले छोराका लागि जति सहज छ बुहारीका लागि त्यति सहज भने छैन । बुहारीले दैनिक बच्चाको सुरसार कहिले ? भन्ने प्रश्नको सामना गर्नुपरेको छ । छिमेक, आफन्तहरुले उनलाई भेट्दा दिने आर्शिवाद पनि चाँँडै नातिको जय जन्म होस् भन्ने नै रहन्छ ।
हुन त ती आन्टिकी एउटी छोरी छिन् । विवाह भएको तीन वर्ष वितिसक्दा सन्तान जन्माएकी छैनन् । अष्ट्रेलियामा छोरी–ज्वाँई ‘सेटल’ भईसकेका छन् । तर, बुहारी भित्र्याएको दुईदिन नभई सन्तानको सपना देख्ने तीनै आन्टीले छोरीले आफ्नो भविष्यका लागि सन्तान ढिला जन्माएको अभिव्यक्ति दिन्छिन् । अझै पनि छोरी र बुहारीबीचको असमानताको खाडलले मनमा थुप्रै प्रश्नले डेरा जमायो । बुहारी भित्रिनु सन्तान उत्पादन मात्रै त होइन् नि ? छोरासँगै आउने बुहारीका पनि त रहर, सपना हुँदो हो । पछिल्लो समय समाज रुपान्तरणको प्रयाससँगै धेरै जस्तो महिलाहरु आर्थिक सशक्तिकरणको बाटोतर्फ मोडिदै जाँदा समेत छोरी र बुहारी बीच राखिने धारणा र विभेदको खाडल पुर्न निक्कै सकस छ ।
यो त भयो, परिवारभित्र निर्माण भएको छोरी र बुहारी बीचको एउटा असमानताका सामाजिक संरचना ।
यता, सामाजिक रुपमा प्रश्नको वाण सामना गर्दै हिँडेकी रिताको विवाह भएको दशक भयो । उनले अझैसम्म सन्तानलाई जन्म दिन सकेकी छैनन् । स्वास्थ्य परामर्श, ज्योतिषशास्त्र, धामिझाँक्रीको ओखती लगायत प्रयोग कति गरिन त्यसको हिसाब छैन । तर, पनि उनी आमा बन्न सकेकी छैनन् । उनी आमा नबन्नुमा परिवारलाई कुनै दु:ख छैन तर, दुखाई भने अरुलाई हुने गरेको उनी सुनाउँछिन् । उनी हाँस्दै भन्छिन्,‘सन्तान नहुँदा मेरो परिवारलाई दुःख छैन, तर मेरो छिमेकीलाई टाउको दुखाई छ ।’ विराटनगर १२ की दयावती विवाह भएको ५ वर्ष बितिसक्दा पनि आमा बन्न सकेकी छैनन् । स्वास्थ्य परामर्शका लागि कोशी अस्पताल परिसरमा भेटिएकी उनी अहिले चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्दै गरेको सुनाउँछिन् ।
तराई भेगमा विवाह भएको वर्षदिन पुग्दा समेत सन्तान नजन्माउँदा विभिन्न आरोप र परिवारको हेला सहनुपर्ने बाध्यता रहेको उनले बताइन् । उनी भन्छिन्,‘सँगै विवाह भएको देउरानीको छोरा जन्मेको छ, म आमा बन्न नसक्दा परिवारले हेला गरेको पीडा छ नि ।’ श्रीमानको साथले उपचार गर्नु पाएको उनले सुनाइन् ।
आमा हुँदा पनि समाजकै डर
दुईवर्ष प्रेम सम्बन्धमा बाँधिएकी बिनिताले (नामपरिवर्तन) मायको उपहार स्वरुप छोरीलाई जन्म दिइन् । छोरी जन्माएर पनि आफ्नो अंगालोमा अंगाल्नबाट बन्चित उनी करिब दुई महिनापछि बल्ल अनुभूति गर्न पाइन् । भोजपुरकी २६ वर्षीया उनी युवासँग प्रेममा परिन् । त्यसक्रममा भएको सहबासमा उनको गर्भ रह्यो । अन्जानमा बसेको गर्भ के गर्ने भन्ने अनविज्ञ रहेको बताउने उनी अर्को परिवार र समाजको भयले पनि आफू आमा बन्दैछ भन्ने कुरा गुमनाम राख्न बाध्य बनेकी थिइन् ।
प्रेमीले दिएको प्रेम र विवाहको सपना बुनेर जसो-तसो विराटनगर आएकी उनी असार १४ मा छोरीकी आमा बनिन् । तर, उनको प्रेमी बुबा बन्न चाहेनन् । भनिन्छ भरोसाले प्रेम र सम्बन्धको डोरी बलियो हुन्छ, टुट्न निक्कै सकस हुन्छ । तर त्यही विश्वास घातमा परिणत भए सम्बन्धमा ठूलो मतभेद आउछ । हो उनको जीवनमा पनि त्यस्तै भयो । विश्वास गरेको प्रेमीले सन्तान चिकित्सकलाई व्यवस्थापन गर्न जिम्मा लगाए । उनलाई उपचार गर्छु भन्ने चिकित्सकले उनको छोरी पाँच लाख रुपैयाँमा बिक्री गरिदिए ।
यसरी प्रेमीबाट मात्रै नभएर चिकित्सकले धोका दिएको उनी यतिबेला ओरेक नेपालको संरक्षणमा छिन् । अहिले उनी समाजको भयले छोरीलाई लिएर गाँउ फर्किन सकस रहेको सुनाउँछिन् । नेपाली समाजमा श्रीमान र श्रीमतीलाई एकअर्काको सुख दु:खको साट्ने अवसर छैन ।