विराटनगर । एन्टिबायोटिक औषधिले काम गर्ने क्षमता गुमाउँदै गएको छ । अस्पतालमा भर्ना भएका बिरामीहरूको नमूना जाँच गर्दा एन्टिबायोटिक औषधिले काम गर्ने क्षमता हराउँदै गएको प्रयोगशाला परीक्षणमा देखिएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका निर्देशक प्रणव कुमार यादवले ल्याब परीक्षणले एन्टिबायोटिक औषधिको कार्य शक्तिमा ह्रास आँउदै गएको बताए । उनका अनुसार हाल धेरै प्रकारका एन्टिबायोटिक औषधिले काम गर्न छाडेको छ । चिकित्सकहरूले बिरामीलाई चलाएका एन्टिबायोटिकले काम नगरेको उनले बताए ।
विश्वव्यापी रुपमा एन्टिबायोटिक रेसिस्टेन्स (एएमआर) बढ्दै गएपनि नेपालमा पनि यस बारे प्रयोगशाला परिक्षण हुन थालेको छ । केन्द्रिय प्रयोगशाला टेकुले देशभरका एक सय भन्दा बढी अस्पतालबाट बिरामीको नमूना संकलन गरेर परिक्षण गर्दै आएको छ । सुविधा सम्पन्न प्रयोगशाला जिल्लाहरूमा नभएकाले हाल केन्द्रले एन्टिबायोटिक रेसिस्टेन्स बारे अध्ययन गर्दै आएको छ । तर, हाल प्रदेशका प्रयोगशालाहरू पनि बिस्तारै सुविधा सम्पन्न बनाउदैछ लगिएको छ ।
पूर्वको मेची अञ्चल अस्पताल, कोशी अञ्चल अस्पताल र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नमुना संकलन गरिदै आएको छ । निर्देशक यादवका अनुसार यी तीन अस्पतालको ओपिडी र आक्रमणपछि भर्ना भएका बिरामीको नमुना काठमाडौं जान्छ । जिल्लाहरूको तथ्यांक भने अहिले सम्म संकलन भएको छैन उनले भने ।
प्रदेशले परिक्षण नगरेपनि रेसिस्टेन्सदर बढ्दै गएको छ । विराटनगरमा पनि कल्चर सेवा भर्खर सुरु गरेका छौं । माइक्रोबायोलोजी ल्याब सुरु गरेका छौं । सहरी क्षेत्रमा अध्ययन गर्दा धेरै रेसिस्टेन्स देखिएको छ तर, जिल्लाहरूमा झन बढी भएको हाम्रो अनुमान छ उनले भने । जिल्लाहरुबाट पनि अब प्रदेशले नमुना संकलन गर्ने निर्देशक यादवले बताए । उनका अनुसार अब, जिल्ला अस्पतालहरूको नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्ने छ ।
अधिकारीहरूले बताए अनुसार अरुबाट लाइसेन्स लिएर फार्मेसी सञ्चालन गर्ने र ज्ञान समेत नभएकाले बिक्री वितरण गर्दा यस्तो समस्या बढ्दै गएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले हालै गरेको अध्ययन अनुसार काठमाडौंमै अरुको लाइसेन्स लिएर फार्मेसी चलाउनेहरू ३१ प्रतिशत देखिएको छ ।
धेरै फार्मेसी पसलमा बस्नेलाई एन्टिबायोटिक औषधिले के काम गर्न भन्ने समेत जानकारी नभएको देखिएको अध्ययनबाट खुलेको छ । परिषद्ले सामुदायिक औषधि पसलमा अध्ययन अनुसन्धान गरेको थियो । १८७ वटा सामुदायिक औषधि पसलमा गरिएको अध्ययन अनुसार धेरैले औषधिको ज्ञान बिनानै बिक्री बितरण गरेको देखिएको छ । जसका कारण रेसिस्टेन्स दर बढ्दै गएको विज्ञहरू बताउँछन् ।
फोटो:फाइल