-आरजे महेश भट्टराई
सल्ल बगेको त्यो एकाखोला वर्षायाममा बाढी आउँदा आजकाल कस्तो होला ?
गड्याङगुडुङ गरि सदा वर्खायाममा बाढी आउने त्याे खाेलाकाे विभिन्न कहानी थियो
तर
हजारौं रोपनी जग्गा र सयौं मान्छेको ज्यान लिने त्यो एकाखोला हिउँदमा झैं सल्ल बग्दो रैछ वर्खा पनि बाढी आउँदा ।
बाढीले सुन झैं पहेंलो धान बगाउँदा पनि ,घरगोठ बगाउँदा पनि गुहार - गुहार बचाऊ भनेर दाजुभाई कराउँदा पनि टुलुटुलु हेर्नु पर्ने , लाटो झैं गर्नु पर्ने दुःख लाग्छ यी रमिते कहानी ।
एकाखोलाको कहानी लामो छ........
हल गोरु बगाएन की लैना गाई ,भैंसी बगाएन की बाँकी खै के नै राखो गार्हो छ भन्न , हलो जोत्ने साइलो दाई, भारी बोक्ने माइलो दाईको इतिहास यहीं खोलाले अन्त्य गरिदियो ।
सुन्दर खेतका फाँटहरू मिनेटमै बगायो कलकल खेतसम्म पानी बग्ने ढल्के बा र रामे दाईको झगडीया कुलो बगायो, यी त चानचुने कुरा भए हजुर बुवाले वर्षाैदेखि बिस्कुन सुकाउने बडेमान मूर्तिन ढुङ्गो कहाँ बिलायो ।
असारे र चैते धान रोप्दा तिम्रो मेरो भेटघाट हुने त्यो गैरीखेत बगायो तिम्रो मेरो इतिहास रच्ने योजना पनि त्यो गैरीखेत सँगसँगै कता हरायो ।
चाडपर्व र पित्रीकार्यमा मीठो धानको भात खुवाउने खुम्बे खेत र च्यामा खेत रातारात बगायाे
बिहानी पख उठेर हेर्दा सेतै बालुवा र ढुङ्गा देख्दा यो मन कति रोयो भाे धेरै कुरा नगर ।
यहीं एकाखोलाको उपद्रोले गर्दा सहन सकिन बाउबाजेको इतिहास सुरु भएको पवित्र स्थान छोड्ने निधो भयो
यहीँ खोलाले हाम्रो वर्षाैदेखिको श्रम खोसियो ।
म मुग्लान भाँसिए तिमी खाडी भाँसियाै हेर काइला दाई तिम्रो र मेरो पीडादायी कहानी फरक - फरक छ ।