-किरण न्यौपाने
मैले बलिरहेको त्यो चितालाई हेर्दा
मेरा मनमा अनेकन भावनाहरु खेल्न थाल्छन।
आगोको ज्वालो दनदनी बलिरहेको छ
छेउमा बा-आमा
अनि ती बा-आमाको अचेत अवस्था
हेर्दा हेर्दै कतिबेला मै एकोहोरिन पुगेछु।
मेरा हातको नाडिमा तप्प आँसु खस्दा झस्किए
तमाम मान्छेहरुको भिडभाड छ
शोकमा परेकाहरु रुदै छन,
हास्दै, नाच्दै तस्बिरहरु कैद गर्नेहरुको पनि तांती त्यति नै छ
तर पनि मेरा आँखा ले त्यही निहालिरहयो,
जहाँ बागमतीको पानीले खरानी भएको चिता पखाले झैँ
उसका कयौं सपनाहरु साकार हुन नपाउदै पखालिरहेको थियो।।