विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गुनासो व्यवस्थापनका लागि क्यूआर कोड सेवा सुरु गरेको छ । प्रहरी संगठन भित्र र आम सर्वसाधारणले खबरका लागि क्यूआर कोड सुविधा उपयोग गर्नसक्ने भएका हुन् ।
कोशी प्रदेश प्रहरी कार्यालयको क्यूआर कोड सुविधा प्रयोग सम्बन्धि कार्यविधी प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले मंगलबार सार्वजानिक गर्नु भएको थियो । त्योसँगै अब सर्वसाधारणले क्यूआर कोडको प्रयोग गरेर प्रहरीसम्म आफ्नो सूचना दिनसक्ने भएका हुन् । प्रहरी महानिरीक्षक कुँवरले प्रविधिको विकाससँगै दुरुपयोग बढेको बताउँदै अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरी समेत प्रविधिमा दक्ष हुनुपर्ने औल्याउनु भएको थियो ।
प्रहरीले प्रयोगमा ल्याएको क्यूआर कोड सुविधा उजुरी पेटिकाको रुपमा उपयोग गर्न सकिनेछ । आम सेवाग्राहीले आफ्नो गुनासो, पीरमार्का वा कुनै घटनासँग सम्बन्धित सुचना दिनुपर्दा तत्काल क्यूआर कोडको प्रयोग गर्न सक्ने प्रहरी नायव महानिरीक्षक एवं कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।
कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी, विशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश सशस्त्र प्रहरी गण बिराटनगर र १४ वटै जिल्ला प्रहरी कार्यालयहरुमा मंगलबारबाट क्यूआर कोड कार्यन्वयनमा आएको हो । प्रहरी नायव महानिरीक्षक बास्तोलाले एक महिना भित्रैमा ईलाका प्रहरी कार्यालय तथा चौकीस्तरसम्म सर्वसाधारणले सहजै प्रयोग गर्नसक्ने गरि क्यूआर कोडको सेवा सुरु गरिने भएको छ । क्यूआर कोडमार्फत सम्बन्धित जिल्लाका जिल्ला प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाई राख्न वा उजुरी गर्न सक्ने सुविधा रहेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले यस अगाडी प्रयोगमा ल्याएको क्यूआर कोडको प्रभावकारितालाई मूल्यांकन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले थप परिमार्जन गर्दै सबै जिल्लामा सुविधा विस्तार गरेको हो । यसको प्रभावकारिता र कार्यन्वयनको लागि कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी अधिकृतसहितको प्राविधिक टोलि समेत परिचालन गरेको छ ।