सुनसरी । सुनसरी बराहक्षेत्र नगरपालिका १ स्थित चतरापुलबाट सय केजी भन्दा बढी गाँजा सहित ६ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
बराहक्षेत्र पुल नजिकैबाट शुत्रबार दिउसो करीब १ सय २० के.जी. बढी गाँजा बोकेको सुमो गाडी र मोटरसाइकल सहित ६ जनालाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएकाहरु भारत घर बताउने ३६ वर्षीय महोमद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओम प्रकाश रजक, सुनसरी जिल्ला देवनागंज गाउँपालिका ५ बस्ने ३१ वर्षीय ओम प्रकाश साह र २० वर्षीय शिवम साह रहेका छन् ।
भारतिय नम्बरको बीआर ०२ आर ९९९४ को सुमो गाडीमा राखि भारततर्फ लैजादै गरेको अवस्थामा गाँजासहित उनीहरुलाई नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले नियन्त्रणमा लिएको हो । प्रदेश नं. १–०२–०५० प ६३०४ नम्बरको मोटरसाइकलले सो गाडीलाई स्कटिङ्ग गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकाहरुलाई बरामद गाँजा, सुमो गाडी र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन ।