विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएकाे निर्वाचनमा ९७७ मत खसेकाे छ । अधिवेसनमा ९९७ जना मतदाता थिए ।
अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा छ।
गएराती भएकाे मतदानकाे मत गणना आज दिउँसाे १ बजेदेखि गर्ने निर्वाचन समितिले जनाएकाे छ ।
विराटनगरस्थित होटल मनास्लु इनमा १२ गतेदेखि जारी अधिवेशनका नेतृत्व सहमतिमा चयन गर्ने प्रयास भएकाे थियाे । तर, नेताहरूबीच सहमति नहुँदा मतदानमा जानू परेकाे हाे ।
अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ । त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेकाे थियाे ।
जसमध्ये उपाध्यक्षमा टिकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ । दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ । चारदिन देखि नयाँ नेतृत्व चयनका लागि विराटनगर झरेकाे एमालेका कार्यकर्ता अब चुनावकाे परिणामकाे प्रतिक्षामा छन् ।