नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता नभएका मोबाइल फोन ‘ब्लक’ हुने बताएको छ । प्राधिकरणले गत जेठ १ गतेदेखि नै एमडीएमएस प्रणाली सञ्चालनमा ल्याएको बताएको छ ।
प्राधिकरणले शनिबार एक सूचना जारी गर्दै अबको १५ दिनपछि एमडीएमएस प्रणालीमा दर्ता नभएका फोनमा सीम कार्ड नचल्ने र ब्लक गरिने बताएको छ । प्राधिकरणले यसअघि पनि पटकपटक एमडीएमस लागु गर्ने प्रयास गरे पनि सफल भएको छैन । करिब ५० लाखको संख्यामा रहेका फोन एमडीएमएस प्रणालीमा दर्ता छैनन् ।
फोन दर्ता गर्न आइफोन र एक लाखमाथिका फोनका लागि १० हजार, स्मार्टफोनका लागि ३ हजार र अन्यका लागि २०० रुपैयाँ शुल्क तोकेर आईएमईआई नम्बर एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिने व्यवस्था सरकारले गरेको छ । तर, निकै कम संख्यामा मात्रै फोन दर्ता भएको प्राधिकरणले जनाएको छ ।
गत वर्षको भदौसम्म नेपालमा रहेका सबै फोनको एमडीएमएस नम्बर प्राधिकरणले निःशुल्क दर्ता गरिदिएको थियो । विदेशबाट फोन ल्याउनेका लागि पनि दर्ता गर्न सकिने व्यवस्था छ । भन्सारबाट आएका सबै मोबाइल एमडीएमएसमा दर्ता हुन्छन् । ती बाहेक कालोबजारीबाट भित्रिएका फोनको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता नहुने भन्दै प्राधिकरणले त्यस्ता फोन ब्लक गर्न यो प्रणाली सञ्चालनमा ल्याएको थियो ।
गत वर्षको भदौ यता भित्रिएका करिब ५० लाख फोन एमडीएमएसमा दर्ता छैनन् । तीनै फोन अब नचल्ने प्राधिकरणले जनाएको छ । दूरसञ्चार प्राधिकरणका एक अधिकारीले १५ दिनपछि एमडीएमएसमा दर्ता नभएका फोन ब्लक गर्ने सूचना आएको बताए । सरकारले कुनै अन्य निर्णय नभएमा ती फोन ब्लक हुने उनको भनाइ छ ।
प्राधिकरणको वेबसाइटमा फोन दर्ता भए अथवा नभएको हेर्न सकिन्छ ।