पथरी मोरङ, जिल्ला वन कार्यालय मोरङले सामुदायिक वन क्षेत्रभित्र रहेका सिमसारलाई संरक्षण गरेर पर्यटकीयस्थलका रुपमा विकास यहाँका बहुसङ्ख्यक सिमसारमा लगानी गरेको छ ।
सेक्टर वन कार्यालय मङ्गलबारेका प्रमुख सहायक वन अधिकृत एकराज दाहालका अनुसार संरक्षणको अभावमा वन क्षेत्रभित्र रहेका सिमसार सुक्न थालेको र त्यसले ओगटेको जमिन त्यसै खेर गइरहेकाले सिमसारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरी आम्दानी गर्ने उद्देश्यले लगानी गरिएको हो ।
जिल्ला वन कार्यालय मोरङले विगतमा राष्ट्रिय वन कार्यक्रमअन्तर्गत वनक्षेत्रमा रहेका सिमसार व्यवस्थापनका लागि लगानी गर्न थालेको हो । यो कार्यक्रमले वनक्षेत्रमा भएका अवस्था बिग्रिँदै गएका र सुक्न लागेका सिमसार संरक्षणमा मद्दत पुग्ने प्रमुख सहायक वन अधिकृत दाहालको भनाइ छ ।
कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा मधुमल्लास्थित मावा नुनसरी सामुदायिक वन क्षेत्रमा रहेको देवीथान सिमसारलाई एक लाख ५० हजार, मधुमल्लाकै मिक्लुङ सामुदायिक वनमा रहेको कत्ले बेतिनी सिमसारलाई तीन लाख रुपैयाँ अनुदान दिएको छ ।
कार्यालयका अनुसार पथरी शनिश्चरेस्थित शान्ति सामुदायिक वनमा रहेको भुल्के जालपादेवी सिमसारलाई रु एक लाख ५० हजार, बेलबारीको ऐतिहासिक धनपालगढीको पोखरीलाई रु चार लाख र सुन्दरदुलारीस्थित हसिना सिमसारलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
मधुमल्लास्थित मावा नुनसरी सामुदायिक वन उपभोक्ता समूहभित्र रहेको देवीथान सिमसारलाई संरक्षणका लागि जिल्ला वन कार्यालयले गतवर्ष चारलाख रुपैयाँ सहयोग गरेको थियो ।
यस वर्ष समूहले आफ्नै आम्दानीबाट ५० हजार र जिल्ला वनको एक लाख ५० हजार खर्च गरी पोखरी निर्माण गरेको अध्यक्ष राजेन्द्रप्रसाद घिमिरेको भनाइ छ । अध्यक्ष घिमिरेका अनुसार १७ कट्ठाभित्र फैलिएको पोखरीको डिलमा विभिन्न जातका फूल, धुपी लगायतका बिरुवा रोपिएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र पिकनिक स्पटका रुपमा विकास गर्ने समूहको लक्ष्य रहेको अध्यक्ष घिमिरे बताउनुहुन्छ ।
मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्तोष लावतीका अनुसार जिल्ला वनले सहयोग गरेपछि मधुमल्लाकै मिक्लुङ सामुदायिक वन क्षेत्रमा रहेको कत्ले सिमसार पोखरीलाई सुन्दर र मनमोहक बनाउन स्थानीयवासी जुटेका छन् । चालु आवमा उक्त सिमसार संरक्षणका लागि जिल्ला वन कार्यालय र जिल्ला भू–संरक्षण कार्यालयबाट करिब आठ लाख रुपैयाँ सहयोग भएपछि उपभोक्ता सिमसार संरक्षणमा उत्साहित भएका अध्यक्ष लावतीको भनाइ छ ।
सिमसार संरक्षणका लागि जिल्ला वन कार्यालयबाट तीन लाख रुपैयाँ र जिल्ला भू–संरक्षण कार्यालयबाट चार लाख ७६ हजार रुपैयाँ अनुदान सहयोग प्राप्त भएको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लावतीको भनाइ छ । भविष्यमा सिमसारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरेर वनको आम्दानी बढाउने लक्ष्य रहेको अध्यक्ष लावती बताउनुहुन्छ । पोखरीको डिलमा बाल उद्यान, पिकनिक स्पट, डुङ्गा सयर, विभिन्न पशुपक्षीसमेत संरक्षण गरेर पर्यटक भित्र्याउने योजना रहेको छ ।
मोरङको पथरी शनिश्चरे–१ स्थित शान्ति सामुदायिक वन क्षेत्रभित्र रहेको भुल्के सिमसार क्षेत्रलाई व्यवस्थित गर्ने कार्यलाई पनि तीव्रता दिइएको छ ।
जिल्ला वन कार्यालय मोरङले सिमसार तथा पर्यटकीय क्षेत्र विकासका लागि रु एक लाख ५० हजार सहयोग गरेपछि शान्ति सामुदायिक वनले सिमसार क्षेत्र विस्तारका लागि कार्य सुरु गरेको हो । पथरी शनिश्चरेलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले सो कार्यको थालिएको वन समूहका कोषध्यक्ष तकवीर लिम्बूको भनाइ छ । रासस