विराटनगर । आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा महिला जनप्रतिनीधि नै पछाडी परेको गुनासो गरेका छन् । बुधबार ‘िश लिड्स’ महिला नेतृत्व कार्यक्रमले आयोजना गरेको स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको चुनौती, अन्तर र अवसर आदानप्रदान गोष्ठि कार्यक्रममा बोल्दै स्थानीय तहमा प्रतिनिधित्व गर्ने महिला जनप्रतिनिधिहरुले आफ्नो अनुभव राख्दै यस्तो बताएका हुन् ।
बेलबारी नगरपालिकाका महिला सदस्य मञ्जु रिजालले महिला जनप्रतिनिधि पनि आर्थिक, सामाजिक साथै राजनीतिक क्षेत्रमा पछाडी पर्ने गरेको गुनासो गरेकी छिन् । उनले आर्थिक निर्भरता नहुँदा जनप्रतिनिधि निर्वाचित भएपनि व्यवहारिक रुपमा अगाडी बढ्न समस्या हुने गुनासो गरेकी हुन् । रिजालले समय व्यवस्थापनमा समेत समस्या हुँदा जनप्रतिनिधिको हैसियतमा निभाउनु पर्ने भूमिकामा पछि पर्नुपर्ने स्थिति रहेको सुनाइन् ।
लेटाङ नगर कार्यपालिका सदस्य चम्पा थापाले थुप्रै चुनौती रहेपनि सिकाईका अवसरले महिलालाई नेतृत्वमा विकास गरिरहेको बताएकी छिन् । कानुनका कतिपय विषयमाहरुमा विभिन्न किसिमका कार्यक्रममा सहभागिता जनाउँदा त्यसले फाइदा पग्ने गरेको थापाको बुझाई थियो । थापाले बजेटमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको विषय कम समेटिने गुनासो समेत गरेकी छिन् ।
कानेपोखरी गाँउपालिकका दलित महिला सदस्य दुर्गा नेपालीले आरक्षणको कोटामा मात्रै नभई खुल्ला प्रतिस्प्रर्धामा महिला नेतृत्वलाई उमेदवार बनाउनु पर्नेमा जोड दिन्छिन् । उनले स्थानीय तहले आफ्ना जनप्रतिधिलिाई समय–समयमा विभिन्न किसिमका अन्तरक्रियामा सामेल गराउनु पर्नेमा जोड दिइन् ।
यौनिक अल्पसंख्यकमाथि हिंसा
कार्यक्रममा परिवर्तनशिल समाज, प्रोजेक्ट कोर्डिनेटर मुस्कान श्रेष्ठले यौनिक अल्पसंख्यकलाई राज्यले नागरिकता दिने सन्दर्भमा हिंसा गरेको आरोप लगाएकी छिन् । उनले आफ्ना समस्या सुल्झाउने कामका लागि समेत नागरिकता चाहिने भएपनि त्यो सहज नभएको गुनासो गरेकी हुन् ।