चन्द्र पौडेल
धनकुटा । सहिदभूमि गाउँपालिका-३ छिन्ताङ गाउँ यतिबेला सुन्तलाले पहेंलै भएको छ । बोटरभरी लटरम्म सुन्तला फलेका छन् ।
किसानलाई सुन्तला टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ । व्यापारीहरू गाडी लिएर बगानमै पुग्छन् । व्यापारीलाई किसानले पहिल्यै क्रेटमा सुन्तला हालेर तयारी अवस्थामा राखिदिन्छन् । यो गाउँका किसानको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो ।
खाद्य बालीको विकल्पमा सुन्तला खेती गरी राम्रो आम्दानी गर्न सफल भएको सहिदभूमि गाउँपालिका–३ छिन्ताङका कृषक डिगबहादुर राई बताउँछन्। उनका अनुसार गतवर्षको तुलनामा यस वर्ष उत्पादन दोब्बर भएको बताए । एक सय बोटमा सुन्तला फलाएका राईले पाँच लाखमा ठेक्का दिएका छन्। परम्परागत रूपमा धान, मकै, कोदो, गहुँ खेतीको विकल्पमा गाउँभरि सुन्तलाका बिरुवा लगाएका छन् ।
गाउँका प्राय सबैका करेसाबारी, खेतबारीमा सुन्तलाका बिरुवा लगाएका छन्। पूर्व फर्किएको भिरालो पाखोमा हाँगा नुगाउने गरी लटरम्म फलेका सुन्तला पाकेर पहेलै भएको देखिन्छ । एउटा घरकाले पचासदेखि पाचसय बोटसम्म सुन्तला लगाएका छन्। छिन्ताङकी मोहनकुमारी राईले सडक र यातायात सुविधा भएकाले सुन्तलाको बजारीकरणमा सजिलो भएको बताईन् । ३५ बोटमा सुन्तला फलाएकी राईले आईतबार मात्र २० हजार मूल्य बराबरको सुन्तला घरमै बसेर बेचेको बताईन।
‘यहाँको सुन्तला गुलियो र रसिलो छ भन्दै व्यापारी बगानमै लिन आउँछन्,’ राईले बताईन, ‘माग धान्नै मुस्किल छ ।’