विराटनगर । विराटनगरको हिमालय रोडलाई पुरानै अवस्थामा फर्काउन माग राख्दै स्थानीय व्यापारीहरुले महानगरका मेयर नागेश कोईरालालाई ज्ञापन पत्र बुझाएका छन् ।
लामो समयदेखि सौन्दर्यकरणको नाममा रोड अव्यवस्थित बनाएको र त्यसले व्यापार व्यवसायमा समस्या भएको भन्दै स्थानीयले हिजो आईतबारदेखी विरोधमा उत्रिएका छन् । उनीहरुले हिमालय रोडमा चल्ने दुवैतर्फको सवारी आवगमनमा अवरोध गरी महानगरपालीकामा पुगेर मेयर नागेश कोईराला विरुद्ध नाराबाजी समेत गरेका थिए । उनीहरुले ‘काल्पनिक एम.जी रोड बन्द गर, साविक हिमालय रोड कायम गर, लेखिएको ब्यानर सहित महानगर पुगेको टोलीले मेयर कोईरालालाई भेटेर तत्काल हटाउन माग राखेका छन् ।
विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुलीको कार्यकालमा कला विल्डर्सले १ करोड ८३ हजार २७२ रुपैयाँमा योजनाको ठेक्का लिएको थियो । रोडलाई भारत सिक्किमको एम.जी. रोडको अवधारणा दिने योजना थियो ।
एम.जी. रोडमा निर्माण गरिएका पानीको फोहोरा स्थलमा मछडको खानी बनेको, राखिएका बत्ती लाइट बल्न छोडेको र आवागमनलाई समस्या भएको स्थानिय व्यापारी शंकरप्रसाद ओझाले बताए । रोपिएको फलफूलको बिरुवा प्रयोगविहीन अवस्थामा रहेकोले नाम मात्रको पर्यटकीय स्थलको कुनै काम नरहेको व्यापारीहरुको भनाई छ ।
सिक्किमको एमजी रोडजस्तै बनाउने भन्दै विराटनगर महानगरपालिकाले अतिव्यस्त सडकमा टाली बिछ्याई फाउन्टेन र फलैँचा राख्नुका साथै विरुवा रोपेको थियो । सो क्षेत्र अहिले सवारीसाधन पार्किङका लागि प्रयोग भइरहेको छ । पार्क निर्माण सुरु गरेपछि यसअघि पनि स्थानीय ब्यापारीले आन्दोलन गर्दै आएका छन् । आइतबारबाट स्थानीय व्यापारी विनोद पोद्धारको संयोजकत्वमा सडक संरचना खारेजीको माग गर्दै आन्दोलन सुरु भएपछि महानगर विरुद्ध निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यता विराटनगर महानगरपालीका मेयर नागेश कोईलारालाले ज्ञापनपत्र बुझ्दै भने तपाईहरुको मागलाई कार्यपालीका बैठकमा राखेर अगाडी बढ्ने प्रतिवद्धता जाहेर गरे । साथै हिमालय रोडको विषयमा ५ सदस्यीय समिती बनाई छलफल गरि व्यापारीहरुले उठाएको मागलाई निकासा निकाल्ने गरी काम गर्ने समेत मेयर कोईरालाले आश्वसन दिए ।