-ऋषि तिवारी
म हेर्दै थिएँ, त्यो भाइलाई । ऊ यतिखेर, आँगन बढार कुडार गर्दै थियो । आज उनले किन एसरी कुचो लिएर सफा गर्दैछन त ? न साँझ परेको छ, न केही । ऊ किन हतारिएको थियो यसरी? घरमा उनका पनि त जहान थिए नि ?
अरुबेला म अफिसबाट फर्किदै गर्दा, उनको जहानले जहिल्यै कुचो लिएर,आँगन बढार कुडार गरेको देख्थें । आज ऊ फुर्ति साथ सफा गर्दैछ आफ्नो आँगन। मलाई कौतुहलता लाग्यो । छटपटपनि उत्तिकै । कौतुहलता मेटाउन छेउमै गएर सोध्न मन लाग्यो र, लम्किएँ उतैं ।
'भाई, अरुदिन, बुहारीले घर आँगन सफा गरेको देख्थें । आज तिमी यो काम गर्दैछौं, कुरो के हो?' उसले कुरो सुन्यो कि सुनेन, ऊ आफ्नै धुनमा थियो।
म त्यही उभिरहेको थिएँ । पानी छम्कदै आँगन सफा गर्यो। दुईतिर केराको थम्बा गेटमा पनि गाडेको थियो,मानौं उसले कसैको आगमनमा स्वागतद्वार नै बनाइ दियो ।
दुईवटा गाग्री दुई गेटमा राख्यो । त्यस गाग्रीमा फुलका गुच्छाहरु दुवैमा राख्यो । गाग्रीमा लेखेको थियो, 'हजुरलाई स्वागत छ ।' उसले केही नभनेपनि बुझें । यी भाईको आफ्नो मान्छे आउने रहेछन । ऊ बिजी थियो । किन दखल दिउँ भन्दै, म फर्किन खोजें । उनले रोके । र, भन्न थाले, 'दाई, मैले सबै कुरो तपाइँको सुनिसकेको थिए, आफ्नो व्यस्तताको बावजुद तपाइँलाई, जवाफ फर्काउन सकिरहेको थिइन ।' मैंले भनें, 'ठिकै छ, भाइ । अनि यो सब के, र, कसका लागि ?' उनले हँसिलो मुहार बनाउदै भनें, 'आज, मेरो घरको माइलो दाई आउँने रे ।'
हुन त हो उनको माइल्दाइ, 'मूल घरमा थिएनन्। के अब सधैं, मूलघरै बस्ने गरी आउने नै हुन त माइलदाइ ?'