सुजता लिम्बु
विराटनगर । राष्ट्रियसभा निर्वाचन नजिकीएसँगै दलहरुको दौडधुप चलेको छ । मुख्य राजनीतिक दलबीच नै तालमेल हुनसक्ने संभावना बढ्दै गएपछि आकांक्षीको संख्या समेत बढ्दै गएको छ । आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचनको मिति तय भएको छ । त्यसका लागि पुस २३ गते मनोनयन गर्नुपर्नेछ ।
कोशी प्रदेशमा दुई सीटमा प्रतिस्पर्धा हुँदैछ । जसका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी) केन्द्र कोशी प्रदेश समितिले सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसकेको छ । सत्ता गठबन्धनमा भागबण्डा हुँदा एकजना काँग्रेसको र एक जना माओवादीको कोटामा पर्ने संभावना थियो । यद्यपी गठबन्धन दलहरुले प्रतिपक्षी एमालेलाई समेत राष्ट्रियसभामा शुन्य नबनाउने विषयमा छलफल सुरु गरेपछि संभावना बचाउने दौडधुप अझै बढेको हो ।
कोशीका जिल्लाबाट काँग्रेस प्रदेशमा ७० जना बढीको नाम सिफारिस भएको छ । प्रदेशले पनि जिल्लाबाट आएका नामहरुलाई अन्तिम टुङ्गो लगाउन केन्द्रमा सिफारिस गरेको छ । जिल्लाबाट आएका नामहरूलाई प्रदेशले अनुमोदन गरेर पठाएको कांग्रेस कोशीका महामन्त्री भूपेन्द्र राईले बताएका हुन् ।
काँग्रेसमा ‘हेब्भी वेट’ कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजङ्ग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य, डिला सङ्ग्रौला र रुक्मिणी कोइरालालगायतको रहेको छ । चुनावमा पराजय बोकेका नेताहरूलाई राष्ट्रियसभामा लानुहुँदैन भन्ने आवाज काँग्रेस कै नेताहरूले उठाइरहेका बेला कोशी प्रदेशबाट भने गत चुनावमा पराजय भएका नेताहरूलाई प्राथमिकता दिइएको हो । कृष्णप्रसाद सिटौला र सुजाता कोइराला प्रतिनिधिसभाको निर्वाचनमा पराजय भएका थिए ।
माओवादी केन्द्रले पनि महिला कोटामा ७ जना र पुरुष कोटामा ३ जनाको नाम सिफारिस गरेको छ । नेकपा एमालेले केन्द्रलाई सात जना उम्मेदवारको सिफारिस गरेको छ । कोशी प्रदेशका पदाधिकारीको बिहीबार काठमाडौँमा बसेको बैठकले चारजना पुरुष र तीन जना महिलाको नाम सिफारिस गरेको हो ।
सिफारिस हुनेहरुमा उमानाथ ओली (झापा), हरिशचरण बानियाँ (झापा), परशुराम अधिकारी (भोजपुर) र कर्ण घले (खोटाङ)को नाम सिफारिस गरेको हो । यस्तै तीनजना महिलामा रजनी मेचे (इलाम), मेचीमाया धिमाल र रुक्मिणी कोइराला (सुनसरी) रहेका छन् ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशका दुई सिटमा प्रतिस्पर्धा हुँदैछ । खुलातर्फका नेपाली कांग्रेसका रमेशजंग रायमाझी र महिलातर्फ नेकपा माओवादी केन्द्रकी बिना पोखरेलको पदावधी सकिने भएकोले निर्वाचन हुन लागेको हो ।
कति छन मतभार ?
राष्ट्रियसभाको लागि कोशीमा स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी कूल ३६७ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उप–प्रमुखको मतभार १९ रहेको छ ।
प्रदेशमा प्रदेश सभाका ९३ सांसदमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना छन् । सांसदहरुतर्फ एमालेको २१२०, कांग्रेसको १५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार रहेको छ ।
१३७ पालिकाका २७४ मध्ये एमालेका ११०, कांग्रेसका ११५, माओवादीका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना छन् । पालिकामा एमालेको २ हजार ९०, कांग्रेसको २ हजार १८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।
प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१०, नेपाली कांग्रेसको ३ हजार ७२२ र माओवादी केन्द्रको १ हजार २७८ रहेको छ । यस्तै एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ । गठबन्धन कायम रहँदा गठबन्धनको पक्षमा ५ हजार ४८३ मतभार हुनेछ । एमालेको भन्दा १ हजार २६४ ले गठबन्धनको बढी रहेको छ ।