काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले उद्योगहरुका लागि चाँदी आयात खुल्ला गर्न आग्रह गरेको छ ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बिहिबार गएको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरी यस्तो आग्रह गरेको हो ।
महासंघका अध्यक्ष शाक्यले हाल कायम रहेको व्यवस्थाले उद्योगी व्यवसायीको लागत बढी पर्न गएको र त्यसले प्रतिस्पर्धी क्षमता घटाएकोले आयातको सीमालाई खुल्ला गर्नुपर्ने बताए । अहिले एक पटकमा ६० हजार डलरसम्मको सीमामा रहेर चाँदी आायत गर्न पाउने व्यवस्था रहेको छ ।
उनका अनुसार महासंघको प्रतिनिधिमण्डलले खपतका आधारमा चाँदीको आयात खुल्ला गर्न केन्द्रीय बैंकको ध्यानाकर्षण गराएको छ । व्यवसायीको आग्रहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले आफूले व्यवसायीको मागलाई सकारात्मक रुपमा लिएको बताए ।
त्यसक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय निलम ढुङगाना, बमबहादुर मिश्र तथा महासंघका तर्फवाट उपाध्यक्ष पवनकुमार सोमानी, कार्यवाहक महासचिव किरणभाइ बज्राचार्य, टेक्नोजया ज्वेलरी उद्योगको तर्फबाट उद्योगी दीपक मुन्द्रा लगायतको उपस्थिति रहेको महासंघका प्रवक्ता मनोज कुमार साहले जानकारी दिए ।