राष्ट्रिय सभासँगै उप-निर्वाचनको चर्चा, इलाम २ प्रति विशेष चासो

<span class='c1'>राष्ट्रिय सभासँगै उप-निर्वाचनको चर्चा, इलाम</span> <span class='c2'>२ प्रति विशेष चासो</span>

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी छिनोफानो गरेसँगै राजनीतिक दलका नेताहरु उप निर्वाचनबारे छलफलमा केन्द्रित हुन थालेका छन् ।

निर्वाचन आयोगले रिक्त रहेका स्थानहरुमा आगामी बैशाखमा निर्वाचन गर्ने प्रस्ताव गरिसकेकाले दलहरु उप निर्वाचन केन्द्रीत छलफलमा जुटेका हुन् । उप निर्वाचनका लागि आकांक्षीहरुले दौडधुप बढाएसँगै दलका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । निर्वाचन आयोगको तथ्यांकअनुसार इलाम २ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभासहित देशभरका १७ वटा वडाध्यक्षको निधनका कारण पद रिक्त छन् । त्यसमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ समेत रिक्त छ । काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको पनि डेंगुका कारण निधन भएको हो ।

इलाम २ बाट निर्वाचित एमाले नेता सुवास नेम्वाङ र बझाङ प्रतिनिधि सभा १ प्रदेश सभा १ बाट निर्वाचित सांसद एवम सुदूरपश्चिम प्रदेश सरकारका तत्कालिन आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वी बहादुर सिंहको निधन भएसँगै उक्त निर्वाचन क्षेत्र रिक्त भएको हो ।
नेपालको संविधानको धारा २१५ को उपधारा ९ मा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष एक वर्ष भन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा रिक्त पदको पूर्ति उपनिर्वाचनबाट हुने व्यवस्था छ । यस्तै, संविधानकै धारा २१६ को उपधारा ९ मा नगरपालिकाको प्रमुख वा उपप्रमुख एक वर्ष भन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा रिक्त पदको पूर्ति उपनिर्वाचनबाट हुने व्यवस्था छ । वडा अध्यक्षको हकमा पनि यहि कानूनी व्यवस्था छ ।

इलाम २ प्रति विशेष चासो

रिक्त रहेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनतर्फ शीर्ष दलहरुले विशेष चासो दिइरहेका छन् । उक्त निर्वाचन क्षेत्रबाट एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए । नेम्वाङको गत भदौ २५ गते राति हृदयघातका कारण निधन भएपछि उक्त स्थानको प्रतिनिधि सभा सदस्य पद रिक्त छ ।
उपनिर्वाचन मिति तय नभए पनि निर्वाचन केन्द्रीत दौडधुप सुरु भएको छ । उपनिर्वाचनमा नेकपा एमालेसँगै नेपाली कांग्रेस र स्वतन्त्र पार्टीका नेताहरुले दौडधुप बढाएका छन् । एमाले कोशी प्रदेश कमिटीले जिल्लालाई तयारी थाल्न निर्देशन दिइसकेको छ । आकांक्षीहरु निर्वाचन क्षेत्र र काठमाडौं ओहोरदोहोर गरिरहेका छन् । निर्वाचन आयोगले राष्ट्रिय सभाको माघमा र उपनिर्वाचन बैशाख पहिलो साता गर्ने यसअघि प्रस्ताव गरेको थियो । माघ ११ गते राष्ट्रिय सभा निर्वाचनका लागि मतदान हुँदैछ ।

२०५६ सालदेखि नेम्वाङले निरन्तर विजयी हासिल गर्दै आएको उक्त क्षेत्रमा उनको निधनपछि सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी एमालेका नेताहरुले चुनाव केन्द्रीत दौडधुप बढाएका हुन् । कांग्रेसबाट आकाक्षी देखिएका भेषराज आचार्य, डम्बर खड्का, केशव थापा, नगेन्द्र कुमालले दौडधुप बढाएका छन् ।
एमालेबाट बुद्धि खनाल, उदय राई, गणेश बराल, रविन्द्र सुवेदीलगायतका नेताहरु आकाक्षी देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट महेन्द्र थापा र पत्रकार धर्म गौतमले इच्छा देखाएको बुझिएको छ । नेम्बाङका कान्छा छोरा सुहाङ, समाजवादीका सम्मानित नेता झलनाथ खनाल, रास्वपाबाटै अनिल केसरी शाहको नाम पनि अगाडि आइरहेको छ ।

लामो समयदेखि एमालेका उम्मेदवार विजयी बनेको यो क्षेत्रमा अब के हुन्छ भन्ने आँकलन गर्न गाह्रो छ । २०७९ सालको निर्वाचनमा नेम्वाङसँग १ सय १४ मतले कांग्रेसका उम्मेदवार डम्बर खड्का पराजित भएका थिए । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका खड्का यस पटक पनि उम्मेदवारीको दौडमा छन् । तर गठबन्धनका नेताहरुबिचको छलफल र कांग्रेसको आन्तरिक भागबन्डाका आधारमा उम्मेदवार टुंगो लाग्ने नेताहरु बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्