विराटनगर । सीमापार भारतीय बजार जोगबनीमा बसेर नेपाली किशोरीसँग अनलाइन सम्पर्क बढाइ 'ट्रयाप'मा पारेर यौन शोषण गरेको आरोपमा एकजना भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले, जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर मोरङ प्रहरीसँगको सहकार्यमा शुक्रबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा जोगबनीका २६ वर्षीय रबिकुमार छन् । उनले अनलाइनबाट नेपाली शिक्षित किशोरीसँग सम्पर्क बनाएर होटलमा बोलाउने र यौन सम्बन्ध बनाएपछि झुक्याएर भिडियो खिच्ने गरेको खुलेको छ । मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार हालसम्म १५ जना बढी किशोरी उनको ट्रयापमा परिसकेको गुनासो प्रहरीमा पुगेको छ ।
क्रमशः पीडितको संख्या बढ्दै गएपछि शुक्रबार उस्तै प्रकृतिको घटनाका लागि विराटनगर आएका बखत पक्राउ गरिएको हो । एक पटक यौन सम्बन्धमा बसेका किशोरीलाई भिडियोका आधारमा उनले उल्टो ब्लाकमेलिङ गर्ने गरेको पाइएको छ । उनले भिडियो अपलोड गर्ने धम्कि दिदै प्लेनको टिकट तथा होटल बुक र खर्च समेत किशोरीलाई तिराउने गरेको पाइएको छ ।
'कतिपय किशोरीले आत्माहत्या गर्ने मनस्थितिसम्म बनाएको घटनासम्म पुगेको देखिएको छ' प्रहरी स्रोतले भन्यो सुरुमा उनले पैसा खर्च गरेर बोलाउने पछि ट्रयापमा पारेपछि उल्टो खेल्ने गरेको देखिन्छ ।
पीडितहरु धेरै काठमाडौंका रहेका छन् । उनी पक्राउ परेसँगै बाँकी पीडित सम्पर्कमा आउनसक्ने अनुमान गरिएको छ । उनलाई प्रहरी परिसर काठमाडौंले अनुसन्धान गर्नेछ ।