-चन्द्रकुबेर खापुङ
उड्न देउ-
चीलहरुलाई खुल्ला आकासमा
चिथर्न देउ नङ्ग्राहरुले निर्मम
तब पो बढ्नेछ विश्वास आफ्ना नङ्ग्रा र पखेटाहरुप्रति
हुनेछ भरोसा
आफु बसेको डालिमा होइन
आफ्ना नङ्ग्रा र पखेटाहरुमा ।
गुन्जन देउ-
आर्तनादहरुलाई बेरोकटोक
फैलिन देउ खित्काहरु स्वच्छन्द
तब पो अस्तित्व हुनेछ आवाजहरुको
र,
ओठहरु खिलखिलाउने छन आफ्नो तागत देखेर ।
उर्लिन देउ-
खहरेहरुलाई आफ्नै गतिमा
बगाउन देउ सामु आउने फोहोर मैला पनि
तय गर्न देउ आफ्नै लयमा गन्तब्य
तब पो थाहा पाउनेछ खहरेले
आफ्नो सिमितता र आफैं
तोडिनेछ उसको घमण्ड ।