-भरत गुरागाईँ बर्बरिक
चिसोबाट बँच्नुपर्छ है कान्छा !
आमा भन्नुहुन्थ्यो,
त्यही युगीन चिसोले गाँजेपछि
आमा फर्किनु भएन ।
कोही घुरमा धुवाँ तापेर
खरानी भइरहेछन्,
कोही सडकपेटीमा
आफ्नै शरीरको तातो ताप्दाताप्दै
कहिल्यै नउठ्नेगरी
हिउँजस्तै जमिरहेछन् ,
कोही चिसा मान्छेहरुको भिडभित्र
थाहा नै नपाई कठ्याङ्गृइ रहेछन्,
म यो घातक ठिही सहन नसकेर
झिँजाले मुढा सल्काउन
आगो खोजिरहेछु ।
कल्पना गर्नुहोस् त-
वीरताको झन्डा ओढेर
आज तपाईंं खाली खुट्टा हिउँचुलीमा हुनुहुन्छ,
अथवा
चिसो सिरेटो चलेको दिशातिर
तपाईं छाती खोलेर हिँड्दै हुनुहुन्छ,
तपाईं त्यो यात्रामा हुनुहुन्छ आज
जहाँ पुगेर
बारम्बार चोबलिनुछ जम्दै गरेको जलाशयमा ।
बाँच्नु धेरै छैन
कति पो छ र हौ !
निक्कै छोटो छ जिन्दगी,
यही लघु आयुको कारण नै हुनुपर्छ
खोला किनारको
घाट मास्तिरको आकाशमा
प्रत्येक दिन देखिन्छ धुवाँको मुस्लो,
यात मान्छे जाडोसँग हारेको छ
यात मान्छे गर्मीबाट पछारिएको छ ।
कस्तो उल्टो देखिरहेछु-
आगो मुन्तिर पानी छ
पानी मास्तिर आगो छ
थाहा छैन-
आगो सेलाउँछ कि पानी तात्तिन्छ ।