विराटनगर । कोशी अस्पताल विराटनगरको मेडिकल भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी केसी कन्ट्रक्सन फ्रिम, कोटेश्वरले काम लगाएका ठेकेदारको भुक्तानी रोक्दै, ठेकेदार फेर्ने गरेको छ । संघीय आयोजना कार्यन्वयन इकाई अन्तर्गत २ अर्ब १७ करोड ६६ लाख बढी लागतमा निर्माण भईरहेको मेडिकल भवनको प्रारम्भिक कामका क्रममा ठेकेदार कम्पनीले निर्माण सामाग्री आपूर्तिकर्ताहरुको भुक्तानी दिन अस्वीकार गरेको हो ।
निर्माण कम्पनीकोतर्फबाट फिल्डमा रहेका सुशिल झाले निर्माण सामाग्री गिटी–बालुवा र ढुंगाको पैसा नदिएपछि माग्न जाँदा बुधबार आपूर्तिकर्ता अनुरोध यादवलाई प्रहरी बोलाएर पक्राउ गराएको आरोप छ । यादवले २ लाख ९० हजार रुपैँया भुक्तानी पाउन छ ।त्यो माग्न झासँग पुगेका थिए । पैसा माग्न जाँदा उनले गेट बाहिर निकालेर दुव्र्यवहार गर्दै प्रहरीको जिम्मा लगाएका हुन् । प्रहरीले पक्राउ गरेर लगेपछि भुक्तानी माग्न गएको बताएका यादवलाई छोडिदिएको छ ।
उनी फर्केर आएपछि बिहीबार पुनः कोशी अस्पतालको निर्माणस्थल पुग्दा गेट बन्द गरेर बाहिरै रोकिएको छ । यसैगरी कविता पाइलिङ्ग कम्पनीले पिलरको काम गरे वापत ३ लाख ६१ हजार रुपैँया पाउन बाँकी छ । होसनारायण राउतले आफ्नो भुक्तानी माग्दा उनलाई हटाएर पाइलिङको काम गर्ने नयाँ कम्पनीलाई भित्र्याइएको छ । नयाँ कम्पनी भित्र्याएपछि पुरानो कम्पनीको पैसा भुक्तानी समेत नगरिएको हो । राउतलाई समेत निर्माणस्थल परिसरमा पस्न निषेध गरिएको छ ।
यसैगरी एक महिनासम्म काम गरेका मजदुर कृष्ण उरावको ३० हजार रुपैँया भुक्तानी नदिईकन कामबाट निकालिएको छ । यस अगाडी समेत झाले पाइलिङको काम अर्कै कम्पनीमार्फत गराएका थिए । त्यसको १७ लाख भुक्तानी दिन पुगेपछि हटाएर कविता पाइलिङलाई भित्र्याएका थिए । कविता पाइलिङको भुक्तानी रोकेर कामबाट हटाउँदै नयाँ कम्पनी भित्र्याएका हुन् ।
कामबाट हटाएर भुक्तानी नदिएपछि बिहीबार निर्माण सामाग्री आपूर्तिकर्ताहरुले निर्माणस्थल बाहिर धर्ना दिएर बसेका थिए । तर, संघीय सरकारको आयोजना अनुगमन गर्न मन्त्री आउने भएपछि प्रहरीले उनीहरुलाई शुक्रबार १२ बजेसम्म ठेकेदार कम्पनीका प्रतिनिधि झासँग भेट गराउने आश्वासन दिएर थामथुम बनाएको छ ।
झाले प्रमुख जिल्ला अधिकारी र प्रहरी आफ्नो पकडमा रहेको भन्दै सामान आपूर्ति गर्ने ठेकेदारहरुलाई धम्की दिदैं आएको आरोप छ । ‘पैसा माग्न आएको भए अहिले प्रहरी खोरमा पुग्छस् भन्छन्’ पक्राउ परेर छुटेका यादवले भने–ठेकेदार कम्पनीको प्रतिनिधि हो की गुण्डा ?! झासँग यस विषयमा बुझ्नका लागि फोन गर्दा उनले भेट्न नसक्ने बताएका छन् । उनले भने–आज संघीय संघीय आयोजना अन्तर्गतका हाकिम र मन्त्रीहरु आउने दिन छ, म यहाँ मिलाउन व्यस्त रहेको छु, भोलि चिया पीउँदे गफ गरौला ।
पाँच सय शैय्याको मेडिकल भवनमा दुई तलाको भूमिगत पार्किङ रहनेछ। पहिलो अन्डरग्राउन्ड पार्किङमा ३४ वटा कार, ७७ वटा मोटरसाइकल र मेडिकल स्टोर रहनेछ। पहिलो भूमिगत पार्किङमा २५ कार ८५ वटा मोटरसाइकल र औषधि पसल रहने छन्।
पहिलो तलामा रजिस्टे«सन, रेडियोलोजी, ब्लड बैङ्क, ल्याब, फार्मेसी र जनरल स्टोर, पहिलो तलामा पीसीआई, एनआईसीयू वार्ड र ९१ शय्याको बच्चाको वार्ड रहनेछ। दोस्रो तलामा ९१ शै्याको अर्थोपेडिक वार्ड, तेस्रो तलामा ९१ शय्याको मेडिकल वार्ड, चौथो तलामा १०३ शय्याको ट्रमा सर्जिकल वार्ड रहने छ। जसमा आँखा, नाक, कान, घाँटी, डेन्टल र जनरल सर्जरी वार्ड रहने छ।
निर्माणाधीन भवनमा सीएसएसडी, पोस्टअप वार्डका साथै सातौँ र आठौँ तलामा सेमिनार र बैठक कक्ष हुने छ भने भवनमा छवटा लिफ्ट रहने गरी नक्सा डिजाइन गरिएको छ।