-जुनु दिव्य राना
तेतिखेर त
प्रेम भएकै रहेनछ ।
तेतिखेर
यदि हामी बिच
साच्चिकै प्रेम भएको भए
तिमीलाई दुख्दा मलाइ दुख्नुपर्ने थियो
र तिम्रो दुखाइले
मेरो पाइला गर्हौ हुनुपर्ने थियो
तर तेसो त
कहिलै भएन ।
हामी बिच
साच्चिकै प्रेम हुँदो हो त
मेरो दुखमा तिमी अनभिज्ञ बन्थेनौं
मेरा सकसहरुमा तिमी म जत्तिकै
थाक्ने थियौ
जीवनका कठोर आरोह- अवरोह रुपि
आँधी भोग्नुपर्दा
तिमीले पर बसेर
अनभिज्ञता जताउने थिएनौं ।
यसरी
त्यो प्रेम थिएन भन्ने थप पक्का भयो
जब तिम्रो दुख पारि नै रह्यो
मेरो वारि नै रह्यो
मेची र कालीको प्रतिबिम्ब बनेर
र त आज
केलाएर हेरें हृदयको नाङलोमा
हाम्रै प्रेमका कनिकाहरु
जो
वास्तविक प्रेमको परिक्षामा उत्तीर्ण
भएकै रहेनछ ।
यतिखेर बल्ल थाहा भयो
तेतिखेर
प्रेम त भएकै रहेनछ ।