विराटनगर । विराटनगरमा भइरहेको मोटरसाइकलको शृङ्खलाबद्ध चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । सीसी टिभीले खिचेको दृश्यको सहयोगमा चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो ।
मोटरसाइकल चोरीका घटना बढेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको थियो ।
त्यस क्रममा मोटरसाइकल चोरी भएका केही सार्वजनिक स्थानका सिसी टिभीको दृश्य प्रहरीले अध्ययन गरेको थियो ।
त्यसैका आधारमा भारतको अररिया जिल्ला, फारबिसगन्ज अन्तर्गत मझुवा ग्राम पञ्चायतका ३५ वर्षीय सिकन्दर मण्डललाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
उनले चोरी गरेर भारततिर लैजाने तयारी गरेको अवस्थामा दुईवटा मोटरसाइकल समेत बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।
बरामद भएको मोटरसाइकलका धनीलाई सम्पर्क गरी घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।