-अच्युत मणि पौडेल
तिमी अप्सरा हौ परी सुन्दरी हौ
तिमी पुष्प गुच्छा हिमानी छटा हौ
तिमी कान्ति छर्ने तिमी दीप्ति भर्ने
तिमी प्रेम लालित्यले प्राण भर्ने
तिमी मुस्कुराए स्वयं रात भाग्छ
तिमी मग्मगाए स्वयं वाग नाच्छ
बगैँचा सदा नै स्वयं तृप्त हुन्छ
तिमी कल्पनामा स्वयं फूल फुल्छ
सदा कर्म राम्रो तिमीले गरेमा
सबै धर्म संज्ञा तिमीले गरेका
तिमी ज्ञान गंगा सुधा मन्त्र भर्ने
तिमी प्रेम संसारको दु:ख हर्ने
सधैँ साथ तिम्रो हुने भाग्यशाली
सुसामिप्य सानिध्य संस्कारवाली
सवै देव भुल्ने तिमी अप्सरा हौ
तिमी उर्वशी झैँ महासुन्दरी छौ
म खै को हुँ भन्दै स्वयं इन्द्र भुल्छन्
परम् तेज तिम्रो स्वयं सूर्य खुल्छन्
तिमी सप्तरङ्गी तिमी नै चरी हौ
तिमी सर्वब्रह्माण्डकी त्यो परी हौ
कवै दु:ख सन्ताप ईर्ष्या नजागोस्
तिमीबाट कर्मेष्टि बानी नभागोस्
तिमी मात्र हेर्दै बनोस् दृश्य सृष्टि
तिमी नै तिमीमा रहोस् ब्रह्म दृष्टि