नेमिष गौतम/नेपाल न्यूज बैंक
काठमाडौं । नेपाली फिल्ममा अभिनेता राजेश हमालको आधिपत्य सुरु भइरहँदा अभिनेता हरिवंश आचार्यले हाँस्यव्यंग्यमा नामसँगै दाम पनि राम्रै आर्जन गरिरहेका थिए । हाँस्यव्यंग्यमा स्थापित हरिवंशलाई त्यही समयदेखि ‘हिरो’ हुने ठूलै रहर पलाएको थियो । हाँस्यव्यंग्य अभिनयकलाबाट मनग्गे आर्जन गरिरहँदा उनी भित्र चाहिँ ‘हिरो’ हुने अभिलाषा जीवितै थियो ।
‘हाँस्यव्यंग्यबाट नाम र दाम कमाए पनि मेरो दिमागमा ‘हिरो’ हुने भूत सलबलाइरहन्थ्यो । राजेश हमाल, भुवन केसीलगायतका अभिनेताहरुको नेपाली फिल्ममा जगजगी भैरहँदा र नेपाली फिल्म निर्माणको क्रम तिब्र गतिमा अघि बढिरहँदा हाँस्यव्यंग्यको कलाकार भन्दा त हिरो पो ठूलो हो कि भन्ने सोच मेरा मनमा गढिरह्यो’, हालैको भेटमा हरिवंशले मनको गुम्फन यसरी खोले ।
हरिवंशमा ‘हिरो’ हुने भूत चढेपनि उनी आफूलाई समाज र दर्शकले ‘हिरो’ स्वीकार्दैन भन्नेमा ढुक्क थिए । ‘किनकी त्यो समयमा हँसाउने इमेज बनाएको म ‘हिरो’ बन्छु भन्ने कुरो ठट्टैको विषय बन्थ्यो । मान्छेहरु ‘फलानालाई हँसाउनेमा सुहाउँछ, हिरो त हुँदैन’ भन्थे । तर मलाई ‘हिरो’ को भूतले कहिल्यै छोडेन’, हरिवंले सुनाए ।
बलिदानले जुराएको ‘हिरो’
हरिवंशले ‘हिरो’ को भूत सवार कुरा सुनाइहँदा उनी फिल्म ‘बलिदान’ को समयतिर फर्किए । जुन फिल्मले उनलाई पहिलोपटक ‘हिरो’ बनाएको थियो । ‘एकदिन रामेश दाई, तुलसी घिमिरे दाई आएर ‘हरिजी फिल्म बलिदानमा तपाईं ‘हिरो’ भन्नुभयो ।
‘बलिदान’ आफैंमा क्रान्तिकारी फिल्म थियो । मैले ‘यस्तो क्रान्तिकारी फिल्ममा म कहाँबाट हिरो हुनु । म बलिदानमा हिरो भएँ भने फिल्म बिग्रिन्छ’ भनें । तर रामेश दाई मान्नुभएन’, हरिवंशले सम्झिए,‘रामेश दाईले ‘तिमी हिरो हो, तिम्रो आँखा हेर त, तिम्रो आँखाले अभिनय बोलिरहेको छ’ भन्नुभयो । रामेश दाईहरु चरित्र पनि राम्रो, समाजलाई केही योगदान दिएको र अभिनय पनि गर्न सक्ने मान्छे खोज्दै हिँड्नुभएका रहेछ ।’
हरिवंशको कानमा अहिले पनि रामेशले त्यो समयमा भनेको ‘हाँस्यव्यंग्यलाई यो ठाउँमा पुर्याउनुभयो, अब फिल्मलाई पनि पुर्याउनुपर्छ, यो चरित्र तपाईंले नै निभाउनुपर्छ’ गुञ्जिरहँदो रहेछ । ‘तर मलाई चाहिँ ‘हिरो’ हुन्छु भन्ने आत्मविश्वास थिएन ।
तर, उहाँहरुले हरिवंशले गर्न सक्छ भनेर मलाई त्यो भूमिका दिनुभयो । ‘बलिदान’मा मैले पनि धेरै मेहनत गरें । फिल्मकै लागि मैले आफ्नो मोटो जिउ घटाएँ । ‘बलिदान’ मा अभिनय गरिसकेपछि मैले एक खालको राम्रै छाप छोडें’, हरिवंश सन्तुष्टि पोख्छन् ।
‘कमेडियन हिरो हुँदैनन्’ भन्ने मान्छेको सोचलाई ‘बलिदान’मा आफूले निभाएको ‘हिरो’ चरित्रले भत्काएको हरिवंशको बुझाई छ । ‘बलिदानबाट मैले स्याबासी पाएँ । मेरो अभिनयले बलिदान बिग्रिएन । बलिदान हेर्ने दर्शकहरुले ‘बलिदानलाई तपाईंले न्याय दिनुभयो’ भन्दा असाध्यै खुशी भएँ । किनकी मैले ‘कमेडियन हिरो हुँदैनन्’ भन्ने भ्रमलाई तोडिसकेको थिएँ’, हरिवंशले भने ।
‘के घर के डेरा’मा ‘हिरो’ को सट्टा ‘भिलेन’
फिल्म ‘बलिदान’ अघि ‘के घर के डेरा’मा हरिवंश ‘हिरो’ नै थिए । तर अन्तिम समयमा आएर उनी ‘भिलेन’ बने । ‘मलाई हिरो खेलाउनु हुँदैन । फिल्म बिग्रिन्छ भन्ने कुराहरु सुनिए । त्यसपछि पुरन जोशीलाई ‘हिरो’का रुपमा लिइयो । म चाहिँ भिलेन बनें । तर फिल्मको सुरुको कथामा म नै ‘हिरो’ थिएँ । हँसाईराख्ने मान्छेलाई ‘हिरो’ बनाउनु हुँदैन भनेपछि पछि चरित्रमा सट्टापट्टा गरियो’, उनी भन्छन् ।
हरिवंशका साहित्यिक ‘हिरो’
हरिवंश पढ्ने, लेख्ने, बुझ्ने र मान्छे चिन्ने उमेरमा आइपुग्दा उनले धेरै ‘हिरो’ लाई पढे र धेरैलाई पर्दामा देखे । ‘फिल्म हेर्नुअघि म पुस्तक खुबै पढ्थें । त्यो बेला मलाई भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, कृष्णचन्द्र सिंह प्रधान साहित्यका हिरो लाग्थे । उहाँहरुका किताब जति धेरै पढ्थें, त्यति नै उहाँहरु ‘हिरो’ हो जस्तो लाग्थ्यो’, हरिवंश भन्छन् । उनका अनुसार रेडियो नेपालमा ‘राजा’हरुको नाम बारम्बार गुञ्जिरहन्थ्यो । उनलाई उसबेला ‘राजाहरु’ पनि ‘हिरो’ हुन सक्छन् भन्ने लाग्दोरहेछ ।
हिन्दीका प्रिय ‘हिरो’
हरिवंश सानैदेखि हिन्दी फिल्म हेरेर हुर्किए । उनलाई ‘कुन फिल्म हेरें’ भन्ने सम्झना त थिएन, तर जुन फिल्ममा बढी फाइट छ, त्यो चाहिँ नछुटाइकन हेर्थे । ‘दारा सिंह खेलेको फिल्म भनेपछि त्यो फिल्म एकदमै राम्रो लाग्ने । साथीहरुले दारा सिंहको फिल्म हेर्न जाउँ भनेपछि पैसा चोरेर हेर्न गइन्थ्यो । कुनै फिल्म हेर्नुअघि कतिवटा फाइट छ भनेर सोध्थ्यौं, अनि फिल्म हेर्न जान्थ्यौं’, हरिवंश सम्झन्छन् ।
हरिवंश अभिनेता दिलीप कुमारको फिल्म ‘संघर्ष’ पुरा नहेरी हलबाट निस्किएका रहेछन् । ‘त्यो फिल्ममा दारा सिंह थिएनन् । दारा सिंह नभएपछि फाइट हुने कुरै भएन । फिल्ममा तरबारको मात्र फाइट थियो’, हरिवंश हाँस्दै भन्छन्, ‘पछि त त्यो फिल्म दुई, तीनपटक हेरें ।’
हरिवंशलाई त्यो बेला राजेश खन्नाको अभिनय निकै मनपर्दो रहेछ । तर उनका प्रिय राजेश भन्दा जितेन्द्र नै रहेछन् । उनको बुझाईमा जितेन्द्रमा चकलेटी अनुहारसँगै नृत्य गर्न सक्ने क्षमता थियो । ‘एकदिन मेरो साथीका दुईजना दिदी भुत्लाभुत्ली गरिहेका रहेछन् । किन रहेछ भनेर बुझ्दा एउटाले राजेश खन्ना राम्रो र अर्कोले जितेन्द्र राम्रो भन्दैथिए । अनि मैले त्यहाँ ‘जितेन्द्र राम्रो हो नि कहाँ राजेश खन्ना राम्रो’ भनेर मुद्दा छिनिदिएँ । तर अहिले बुझ्दा राजेश खन्ना राम्रो अभिनय गर्दा रहेछन् भन्ने लाग्न थालेको छ,’ उनी सम्झन्छन् । उनलाई फिल्ममा गम्भीर भावमा अभिनय गर्ने भएकाले अभिनेता दिलीप कुमार पनि मनपर्दोरहेछ ।
सल्यान केसीबाट प्रभावित हरिवंश
हरिवंशको सम्झनामा उनले नेपाली फिल्म ‘मनको बाँध’ २२ पटक हेरेका रहेछन् । त्यो फिल्मका ‘हिरो’ सल्यान केसी उनलाई औधी मनपरेको रहेछ । ‘खासमा उहाँ अभिनेता नै होइन । त्यो बेला ‘हिरो’ भनेको क्षेत्री, बाहुन अर्थात् आर्यन अनुहार भएकालाई मात्र मानिन्थ्यो । त्यो बेला फोटो हेरेर ‘हिरो’ छानिन्थ्यो । सल्यान केसी मलाई निकै राम्रो लाग्थ्यो । नेपाली फिल्मको ‘हिरो’ भनेपछि फिल्ममात्र होइन, पोस्टर पनि झनै राम्रो लाग्ने । श्यामश्वेत पोस्टर हेरेर दंग पर्थें’, उनी भन्छन् ।
१४ वर्षमा ‘कुमारी’मा अभिनय
हरिवंशले १४ वर्षको उमेरमा फिल्म ‘कुमारी’मा अभिनय गरे । फिल्ममा अभिनय गर्ने मौका भने उनले ‘मनको बाँध’को एक दृश्यबाट पाएका रहेछन् । ‘मनको बाँध’मा उस्ताद भैरवबहादुर थापा ‘पिता’ र पोखराका कुलदिप शेरचन ‘छोरा’को भूमिकामा अभिनय गरेका छन् । उनीहरुको एउटा पसल हुन्छ । त्यो पसलमा अभिनेत्री बसुन्धरा भुषाल सामान किन्न आउँछिन् । बसुन्धरालाई भैरवबहादुर र कुलदिपले हरिवंशकै भाषामा ‘ताक्दा’ रहेछन् । त्यो दृश्य उनले धेरैपटक हेरेका थिए ।
‘म १४ वर्षको हुँदा फिल्म ‘कुमारी’का लागि अन्तर्वार्ता दिएँ । मलाई निर्देशक प्रेमबहादुर बस्नेतले ‘तिमी के गर्न सक्छौ ?’ भनेपछि मैले ‘मनको बाँध’मा भैरवबहादुर थापा र कुलदिप शेरचनको अभिनयसँगै बसु दिदीको संवाद बोलें । मेरो नाम एक नम्बरमा निस्कियो । मेरो भूमिका खलासीको थियो । फिल्मको कथा कुमारीलाई बिहे गरेमा उसको श्रीमानको मृत्यु हुन्छ भन्ने थियो । कुमारीको श्रीमानको भूमिकामा गौतमरत्न तुलाधर हुनुहुन्थ्यो । फिल्ममा उहाँ ट्रक चालक हुनुहुन्थ्यो । कुमारीलाई बिहे गरेपछि उहाँको ट्रक दुर्घटनामा परेर निधन हुने दृश्य थियो । तर, मेरो उमेर १४ वर्षको मात्र भएपछि बालश्रमको हिसाबले खलासी बन्न हुँदैन भन्ने कुरा उठेपछि मलाई त्यो भूमिकामा अभिनय गराइएन । त्यसपछि मैले त्यही फिल्ममा एउटा सानो भट्टीमा बाउ छोरा गएर रक्सी खाने दृश्यमा अभिनय गराइयो’, हरिवंश भन्छन् ।
आफैं ‘हिरो’
हरिवंश ‘बलिदान’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’, ‘महापुरुष’, ‘मदनबहादुर हरिबहादुर’, ‘महाजात्रा’ र ‘भूठान’को आफ्नो चरित्रलाई ‘हिरो’ मान्छन् । ‘महापुरुषमा म ‘हिरो’ नै हो । फिल्मको हकमा अरु सहयोगी कलाकार हुन् । हिरो भन्नासाथ गीत गाउँने, नाँच्ने र युवा अनुहार सम्झन्छन् । तर चरित्रलाई जसले ‘लिड’ गर्छ, त्यो नै हिरो हो’, उनी भन्छन् ।
हरिवंश ‘मदनबहादुर हरिबहादुर’लाई उदाहरण दिन्छन् । फिल्ममा ‘हरिबहादुर’ भलै नकारात्मक भूमिकामा देखिएपनि हरिवंशका लागि ऊ ‘हिरो’ नै हो । ‘हरिबहादुरको चरित्र जे जस्तो भए पनि ऊ हिरो हो । त्यो सिरियलमा हरिबहादुरलाई झिकिदिने हो भने त्यो अपुरो हुन्छ । ‘हिरो’ परिस्थिति अनुसार हँसाउने पनि हुनसक्छ, रुवाउने पनि हुनसक्छ’, हरिवंशको बुझाई छ ।
आगामी चैत ९ गतेबाट रिलिज हुने फिल्म ‘महाजात्रा’मा हरिवंश भिलेन चरित्रमा देखिँदैछन् । उनी फिल्मका विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झालाई एकतिरको ‘हिरो’ र आफूलाई अर्कोतिरको ‘हिरो’ मान्छन् । ‘उनीहरुको मिसनमा मेरो नेगेटिभ क्यारेक्टरलाई पोजेटिभ क्यारेक्टरमा ढाले । त्यो मामलामा उनीहरु ‘हिरो’ भए । मैले पनि फिल्ममा कसैलाई डोहोर्याएर लिएर गएको छु । यो फिल्ममा मेरो क्यारेक्टर अथवा मेरो भूमिका झिक्यो भने अरुले खेलेको भूमिका र कथा अधुरै हुन्छ । मैले कथालाई डोहोर्याएको छु’, उनी भन्छन् ।
उनको बुझाईमा ‘हिरो’ भनेको कथालाई डोहोर्याउने व्यक्ति नै हो । ‘त्यो मान्छे ८० वर्षको पनि हुनसक्छ अथवा मान्छे बच्चा पनि हुनसक्छ । तर फिल्म ऊ प्रति केन्द्रित हुनुपर्यो’, हरिवंशको बुझाई छ ।
अभिनयको अफरै अफर
हरिवंशलाई महिनामा एक फिल्ममा अभिनयको अफर आउँछ । तर उनी राम्रो स्क्रिप्ट र चित्तबुझ्दो टिमलाई प्राथमिकता दिन्छन् । ‘अभिनयको अफर एकदमै धेरै आउँछ । मैले समय पनि दिन सकेको छैन । चित्तबुझ्दो स्क्रिप्ट पनि भेटाएको छैन । म क्यारेक्टरमा सधैं खुला छु’, उनी भन्छन्, ‘कोही स्क्रिप्ट लिएर आउनुहुन्छ, कोही दुई पानाको कन्सेप्ट लिएर आउनुहुन्छ, कसैले मुखैले सुनाउनुहुन्छ । राम्रो टिम र कथामा काम गर्न मन लाग्छ, तर चरित्र चाहिँ अघिल्लो फिल्मको भन्दा भिन्न हुँदैन । चरित्र भिन्न नभएपछि पछि गरौंला भनेर छोडिदिन्छु ।’