विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट गोल्डकप सफल बनाउन सबैलाई आग्रह गर्नुभएको छ।
विराट गोल्डकप ट्रष्टले आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर कोइरालाले विराट गोल्डकप विराटनगरको शान भएकाले सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गोल्डकप सफल बनाउन पत्रकारहरुको विशेष भूमिका हुने भएकाले प्रचारप्रसार गरेर सहयोग गर्न आग्रहसमेत गर्नुभयो ।
महेन्द्र गोल्डकप हुँदै विराट गोल्डकपसम्म आइपुग्दा धेरै नै आरोहअवरोह पार गरेको भन्दै मेयर कोइरालाले गोल्डकप असफल हुँदा विराटनगर नै असफल हुने तर्क गर्नुभयो । विराटनगरको नामसित जोडिएको प्रतियोगितालाई भव्य रुपमा सफल बनाउने दायित्व सबैको भएको उहाँको भनाइ थियो । “विराट गोल्डकप विराटनगरको गौरव पनि हो । यसलाई सफल बनाउने दायित्व हामी सबैको हो,” उहाँले भन्नुभयो ।
विराट गोल्डकप यही चैत १५ देखि २४ गतेसम्म शहीद रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगितामा भुटान, भारत र नेपालका १० वटा टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष किशोर शाहीले जानकारी दिनुभयो । प्रतियोगिता डे नाइट हुनेछ । प्रतियोगिताको पुरस्कार राशि भने झन्डै आधा घटाइएको छ । प्रतियोगिताको विजेताले गत वर्ष २० लाख ५१ हजार र उपविजेताले १० लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएकोमा यो वर्ष विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
आर्थिक मन्दी र गत वर्ष घाटा भएका कारण यो वर्ष पुरस्कारको राशि घटाइएको आयोजकले जनाएको छ । २०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको गोल्डकप २०६२-०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ । गत वर्ष विराटनगर फुटबल क्लब प्रतियोगिताको विजेता बनेको थियो भने भारत केरलाको लुका सकर क्लब उपविजेता बनेको थियो ।