काठमाडौं । पुँजी बजार संघर्ष समितिले विदेशी लगानीकर्ता आकर्षित गर्न लगानी सम्मेलन गर्ने तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै व्यवसायीले विरोध प्रदर्शन गरेका छन् ।
शनिबार काठमाडौंको माईतीघरमा संघर्ष समितिले सरकारले विदेशी लगानीकर्ता आकर्षित गर्न खोजको तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै आन्दोलन गरेको हो ।
आन्दोलनमा सहभागीहरुले ‘हामी लगानीकर्ता हौं, भिखारी होइनौं’,‘मैलिक हक अधिकारको सुरक्षा गर’,‘लगानी क्याम्प खारेज गर’, ‘लगानीकर्तालाई विदेश पलायन गर्ने कार्य बन्द गर’ लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् । कार्यक्रममा पुँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले सरकारले पहिले लगानी सम्मेलन गरिसकेको भएपनि केही उपलब्धी हासिल गर्न नसकेको आरोप लगाए । स्वदेशी लगानीकर्ताले उठाएका मागहरु तत्काल सुनुवाई गरी लगानीको वातावरण बनाएमा नेपाली लगानीकर्ताले पनि राम्रोसँग लगानी गरी देशलाई धनी बनाउन सक्ने उनको दाबी छ ।
उनले भने,‘सरकारको करौडौं बजेट खर्च गरेर नाटक नगरेको राम्रो । पहिले काम गर्नुपर्छ । वातावरण बनाउन हामीले ध्यानाकर्षण गराएका हौं । लगानी सम्मेलन तीन चारवटा भइसक्यो अहिलेसम्म कुनै उपलब्धी हासिल भएको छैन् । त्यसैले यस्तो नाटक गर्नुभन्दा हामी लगानीकर्ताले उठाएका कुराहरु तत्काल सुनुवाई होस् । एउटा वातावरण बनोस् हामी आफै त्यो भूमिका खेल्छौं । नेपाली लगानीकर्ताले पनि राम्रोसँग लगानी गर्छौं । देशलाई धनी बनाउँछौं । ’
उनले लगानीकर्ता भनेपछि चोर, डाका, फटाह र सामन्त भन्ने भाष्य सिर्जना गरेकोमा आपत्ति जनाउँदै देशका नेताहरु र कर्मचारीतन्त्रमा गलत सोचाइ हाबी भएको बताए । नीति, नियम, पूर्वाधार र नियमन राम्रो बनाएर लगानीकर्ताको बजार सुनिश्चित गर्न उनले माग गरे ।
उनले भने,‘लगानीकर्ता भनेपछि चोर, डाका, फटाहा, सामन्त भन्ने सोचाइ गलत छ । देशका नेताहरु र कर्मचारीतन्त्रमा त्यस्तो सोचाइ हामी देखिन्छ । त्यो खालको सोचाई परिवर्तन गर्नैपर्छ । नीति, नियम, पूर्वाधार र नियमन पनि राम्रो बनाउनुपर्छ । लगानीकर्ताको समस्या के हो त्यो समाधन हुनुप¥यो । बजारको एउटा सुनिश्चितता पनि गर्नुपर्छ ।’ सरकारले तेस्रो लगानी सम्मेलन यही बैशाख १६ र १७ गते काठमाडौंमा आयोजना गर्दैछ । सम्मेलनमा १ सय ५१ परियोजनाहरु प्रश्तुत गर्ने कार्यक्रम छ ।