इलाम । इलाम २ को उपनिर्वाचनमा पराजित भएपछि कांग्रेस जिल्ला सभापति समेत रहेका उम्मेदवार डम्बर खड्काले विजयी सुहाङ नेम्वाङलाई बधाई दिएका छन् ।
सभापति खड्काले जनताका आशा, अपेक्षा र आवश्यक्ता पूरा गर्दै क्षेत्रको समुचित विकासका लागि विजय सार्थक रहोस भन्ने शुभकामना दिएका हुन् ।
‘लोकतन्त्रको सुन्दरपक्ष भनेकै निर्वाचन अनि निर्वाचनमार्फत स्वस्थ प्रतिस्पर्धा गर्ने र विजयीले सबैपक्षलाई समेटेर अगाडी बड्ने हो अतः उपनिर्वाचन २०८१ मार्फत इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा एमालेका तर्फबाट उम्मेदवार सुहाङ नेम्बाङ विजयी बन्नुभएकोमा मेरो ब्यक्तिगत र सिङ्गो नेपाली कांग्रेस पार्टीका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’खड्काले भने ।
त्यस्तै कांग्रेस इलाम सचिव पूर्ण प्रसाद गौतमले विजयी उम्मेदवारलाई बधाई दिंदै प्राप्त जनमतको समान गर्न, जनअपेक्षा पूरा गर्न र सबैको साझा जनप्रतिनिधिको रूपमा प्रतिनिधित्व गर्दै सफल र इमान्दार सभासद्को भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बताएका छन् । नेपाली कांग्रेस लोकतन्त्र र बहुलवादमा आधारित बहुदलीय संसदीय राजनीतिक प्रणालीको माध्यमबाट मुलुकको विकास र समृद्धिको पक्षमा थियो,छ र अविचलित रूपमा उक्त मान्यतामा दृढ रहनेछ। यस निर्वाचनमा नेपाली कांग्रेस, आफ्नो स्पष्ट सैद्धान्तिक र वैचारिक दृष्टिकोणकासाथ नीति र कार्यक्रम लिएर जनता र मतदाताको बीचमा गै रहँदा मतदाताबाट प्राप्त भएको अभिमत ,विजय प्राप्त गर्नका निम्ति अपेक्षा अनुरूप पर्याप्त भएन तर नेपाली कांग्रेस प्रतिको विश्वास र भरोसा चाहिँ मतपत्रले प्रतिबिम्बित गरेको छ। यसका निम्ति नेपाली कांग्रेसको पक्षमा हुने सबैप्रति सादर कृतज्ञता व्यक्त गर्दछु। हाम्रा सवल पक्षको निरन्तरता र कमजोरी पक्षमा सुधार गर्दै अझ संगठित दर्विलो संस्थाको आभास हुनेगरी अगाडि बढ्न जरुरी भएको प्राप्त सन्देशलाई सम्मान गरौँ,’सचिव गौतमले भने ।
उनले विजयको उन्माद र उत्तेजनाको प्रस्तुति भन्दा दायित्वबोध र जवाफदेहिता अनि पराजयको कुण्ठा र भावाबेश भन्दा संयम भएर भावी यात्रा तय गर्नु गर्नु बढी सान्दर्भिक हुने पनि अपेक्षा व्यक्त गरेका छन् । इलाम–इलाम २ वाट प्रतिनिधि सभा सदस्यमा एमालेका सुहाङ नेम्वाङ विजयी भएपछि बधाईको ओइरो लागेको छ । निर्वाचनमा कांग्रेसका खड्कालाई ५ हजार ३० मतले उछिन्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन ।नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन् ।
यस्तै पहिचान पक्षधर उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ११हजार ४ सय ५७ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत ल्याएका छन् ।