सुजता लिम्बू
विराटनगर । धेरैले लिम्बूनीहरुलाई छुच्ची स्वभावका हुन्छन् भन्ने धारणा बनाएको हुन्छ । समान्य साथीभाईसँगको गफगाफमा ‘लिम्बूनीहरुसँग त सकिदैन है’ भन्दै व्यंंग्य गर्ने गरेको पनि पाइन्छ् । तर, लेखक, कवि उपेन्द्र सुब्बाद्धारा लिखित एवम् निर्देशनमा रहेको चलचित्र ‘मनसरा’मा लिम्बूनीको स्वभावलाई शालिन देखाइएको छ ।
कथाको अन्तिमसम्म यही विषयले एकतमासले मन तान्नुको कारण एकल आमाले बाँचेको जीवन नै हो । सन्तान नहुँदाको एक दम्पतीको व्यथा कथाको मुख्य पाटो भएपनि सन्तान भएर पनि एक्लो हुनुको कथा एकल आमाका लागि चलचित्रको माध्यमबाट जीवन बाच्ने प्रेरणा दिन्छ ।
मनरानी लिम्बू (मिरुना मगर) लाई नयाँ शहरमा आफ्नै ढंगले बाँचेको जीवनले मौन बनाएको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।
उनले विराटनगरको प्रिमियर पछिको पत्रकार भेटघाटमा कथा अनुसार नै अभिनयमा पनि दुरुस्तै आफूलाई ढालिएको तर्क दिएकी थिइन् । यता, छुच्चो स्वभावकी नेवार्नी अर्थात नानीमाया श्रेष्ठ (मेनुका प्रधान) बच्चा नहुँदाको पिडाले श्रीमानलाई शंकाको घेरामा पारेर झगडा गर्ने स्वभाव एउटी महिलाको मानोविज्ञानलाई समेत निर्देशक सुब्बाले पस्कन खोजेका छन् ।
मनसराले सरल ढंगबाट एउटा समाजमा भोगेको हरेक मान्छेको कथालाई गम्भिरतापूर्वक उठान गर्न खोजेका छन् । ददिराम पोखरेल (प्रवीण खतिवडा) र नानीमायाको जस्तै सन्तान प्राप्तिको आकांक्षा हरेक सन्तान नहुने दम्पतिहरुको जीवन भोगाइ हुन्छ ।
सन्तान नहुँदा परिवारमा विग्रह ल्याएको कयौँ सम्बन्ध नेपाली समाजमा गुमनाम भएका छन् । तर, सन्तान नहुनुमा महिला मात्रै होइन पुरुष पनि भागेदार हुन्छन् भन्ने चलचित्र मार्फत सरल ढंगले देखाउन खोजिएको छ । मिश्रित समाजलाई एउटा कथाको धागोमा बुनेर चलचित्रको आकार दिन खोजिएको छ भन्दा कुनै फरक पर्दैन । यो चलचित्रले एउटा समाजको ऐना मात्रै हेर्न खोजिएको छैन । कृषिको पाटोलाई पनि बढो गजबले जोड्न खोजेको छ । किनभने ’मनसरा’ पहाडमा फल्ने धानको प्रकार हो । यो धान अन्य धानको बिउसँग समाहित गरेर रोपे पनि उसले आफ्नै अस्तित्व कायम राखेर मनसरा नै भएर फल्ने गर्छ । यही विषय चलचित्रमा देखाउन खोजिएको छ । एउटा समाजमा हरेक थरीका मान्छे अटाएपनि उनीहरुको आफ्नै अस्तित्व हुन्छ । जस्तै की दुध र रक्सिको ।
दुधलाई रक्सीसंग मिसाउन खोजे त्यसले आफ्नो अस्तित्व कायम राख्ने सक्दैन । प्रेम र आकर्षणलाई पनि बढो गजबले उठान गर्न खोजिएको छ । एकल महिलालाई समाजमा आफ्नो ठानिएकै पुरुषले हेर्ने गलत नजरलाई चित्रण गरिएको छ । मानहाङ चेम्जोङ (दयाहाङ राई) मौन भएर पे्रमिकाको खोजीमा भौतारिएको दृष्य अनि छोडि गएको प्रमीको पर्खाइमा बसेकी मनरानीको ‘पर्खाइको कनेक्सन’ बलियो ढंगले उताएिको छ । छोडेर जानेलाई पनि सकारात्मक लिएको त्यो सोचले मनसराले प्रेमको परिभाषा पनि सिकाएको छ । लिम्बू मुन्धुम अनुसार मान्छेको उत्पत्तिका विषयलाई जोडन खोजिएको छ ।
समग्रमा कथा अर्गानिक छ । कथा अनुसार पात्रको भूमिका पनि उत्तिकै बेजोड छ । जारीको यात्राबाट आरम्भ भएको सुब्बाको चलचित्र निर्देशन यात्रा बाँकी दिनमा थप सफलताको शिखर चुम्ने छ भन्नेमा कुनै दुई मत छैन ।