इन्दु साह
विराटनगर । ३६ वर्षको जवानी उमेर हुँदा एउटा सपनाले उनलाई डोहो¥यायो । सपना देखेपछि त्यसमा लाग्ने योजना बोकेकी ७६ वर्षीय सीता पोखरेलले २०४४ सालमा पूर्वाञ्चल बाल आश्रम खोलिन् । जहाँ असहाय बालबालिकाको संरक्षण सुरु गरियो । विराटनगर–१३ मा रहेको पूर्वाञ्चल बाल आश्रम खोलिन्, निरन्तर अनाथ बालबालिकाको संरक्षणमा पोखरेलले आफ्नो ४० वर्षदेखि लागिरहेकी छिन् ।
आफूलाई जन्म र कर्म दिने बाबुआमालाई आश्रममा राखेर जीवनमा सुख खोज्ने सन्तान बढ्दै गर्दा सीता आमाले भने अहिलेसम्म ३०० सन्तानलाई हुर्काएकी छिन् । हुर्किएकाहरुलाई पढाएकी छिन्, विवाह दान गरेर आफ्नो स्वतन्त्र जीवनमा फर्काएकी छिन् । उमेरले आफैं ज्येष्ठ नागरिक बनेकी उनको आश्रममा अझै ७० जना सन्तान छन् । जसलाई उनी छोराछोरी भनेर सम्बोधन गर्दछिन् ।
आश्रम स्थापना गर्दा उनले एक एक मुठ्ठि चामल घर–घरमा पुगेर संकलन गरेको अनुभव छ । सामाजिक सेवाभावले स्थापना गरेको संस्था ठुलो छ । संस्था सञ्चालनका लागि आवश्यक पर्ने रकम कम । अहिले पनि उनका लागि कहिले कहिले खानेकुराको जोहो गर्न असजिलो रहेको सुनाउँछिन् । बस्ने स्थान त फराकिलै छ, दुई विगाहा जमिनमा आश्रममा संरचनाहरु छन् । सिजनका फलफुल समेत हामीले आश्रममा फलाउँछौ तर अन्य खाद्य सामाग्री लगायत बालबालिकाको पठनपाठन खर्च आवश्यक पर्दा जुटाउन सहज छैन ।
दूःख गरेरै तीनसय सन्तानको लालनपालन गरिसकेको छु, पोखरेलले भनिन्–मैले हुर्काएकाहरुले आमाको मुख हेर्ने दिन सम्झन्छन् । देश भित्र रहेका र विदेशमा पुगेकाहरुले गरेको फोन उठाउन भ्याईनभ्याई हुन्छ । पोखरेलाई पनि याद भएजतिको सम्झनाले सताउने बताउँछिन् । उनको फोन आमाको मुख हेर्ने दिन बजिरहन्छ । उनको सन्तान जहाँजहाँ भएता पनि उनलाई एक पटक सम्झिरहेका हुन्छन् । ‘जहिलेसम्म छु यिनै सन्तानको पालनपोणमा समय बिताउँछु ।
उनले विगत समेत आश्रममै बिताईन् । पुराना दिनको पनि याद छ, जब पैसा नहुँदा ,सहयोगीदाता नहुँदा उनीसहित आश्रमका बालबालिकाले भोग्नुपरेको पीडा। तर, पीडासँगै खुशी पनि छन् । ती दिनको दुःखले अहिले सहयोगीदाताकै भरमा आश्रममा बस्नेहरु भोको बस्नु नै परेको छैन ।
आश्रममा प्रवेश गर्नसाथ ४ वर्ष देखि ३५ वर्षसम्मका उमेर समुहका किशोर–किशोरी र बालबालिका देखिन्छन् । पोखरेलले भनिन् पहिले त दुई चार जना साना शिशुहरु समेत थिए आश्रममा तर अहिले ४ वर्ष उमेर समुह देखि ३५ वर्ष सम्मका सदस्य मात्रै छन् । आश्रममै पालन भएका र अहिले विभिन्न स्थानमा बसाई गएका छन् । ४० जना भन्दा बढि त विदेशमै छन् । केहिको विवाह भईसकेको र आ–आफ्नो घरजममा ब्यस्त छन् । आश्रम छोड्नेले अझ सकेको सहयोग गर्दै आएका छन् ।
सीता पोखरेललाई सबैले आमा समेत भन्ने गरेका छन् । आश्रमबाट हुर्केर अन्य ठाउँमा जागरी गरीरहेका र घरजम गरेर बसेकाले हालखबर सोध्ने गरेका छन्। उनीहरुले आफु भएकै ठाउँबाट सकेको सहयोग समेत गर्दछन् । सबैको अहिले आफ्नै परिवार भएकोले सकेको सहयोग हुने पोखरेलको भनाई छ ।
४० वर्षीय सुरेश नेपाल २३ वर्ष आश्रममा बसे । अहिले उनले काठमाडौंको ठुलो कम्पनीमा काम गर्दै आएका छन् । सुरेश भन्छन् म मात्र ५ वर्षको हुँदा पूर्वाञ्चल बाल आश्रमले राखेको हो । कक्षा १० सम्म मैले आश्रममै बसेर पढे । त्यस पश्चात मैले आश्रम छाडेर काम गर्दै पढें । यसरी मैले स्नातक पुरा गरे । अहिले मेरो दुई सन्तान समेत भईसकेका छन् । तर मैले आजसम्म आश्रमलाई सकेको सहयोग गर्दै आएको छु । सुरेशले सीता आमाको आत्माबृतान्त समेत लेखेका छन्। उनले भने आश्रम मेरो घर हो र आश्रमका सदस्य परिवार हुन् । मेरो आमा सीता पोखरेल हुन् । उहाँ म मात्रको नभएर अन्य धेरैको आमा हुनुहुन्छ । समय मिलाएर फोन गर्छु, आज विशेष दिन उहाँको स्वाथ्यलाभ र दिर्घआयुको कामना गर्दछु ।