विराटनगर । विराटनगर महानगरपालिका भित्र क्याटरिङ्ग तथा टेन्ट व्यवसाय गरिरहेका व्यवसायीहरुलाई फोहोर व्यवस्थापन सदस्य अनिवार्य बन्नुपर्ने निर्णय गरिएको छ । विराटनगर महानगरपालिका सरसफाई व्यवस्थापन शाखाले सम्बन्धित सरोकारवाला पक्षसँग बैठक राखेरै फोहोर व्यवस्थापन सदस्य बन्नुपर्ने निर्णय गरेको हो ।
सम्बन्धित घरधनीसँग क्याटरिङ्ग चलाउने सम्झौता गरेका व्यवसायीले त्यहाँ उत्पादन भएको फोहोर जथाभावी सडकमा फ्याँक्ने गरेका थिए । टेन्ट तथा क्याटरिङ्गबाट निस्कने फोहोर त्यसै छोड्दा त्यसले दुर्गन्ध फैलने जोखिम बढेको थियो । सरसफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहालले व्यवसायीहरु आफैं कन्भिन्स भएर सदस्य बन्ने निर्णयमा पुग्ने स्वागतयोग्य भएको बताएका छन् ।
दाहालले सुरुमा दर्ता हुन बाँकी क्याटरिङहरुलाई दर्ता हुनेछन् । दर्तापछि उनीहरुले फोहोर व्यवस्थापन सदस्य बन्ने र कार्ड लिनेछन् । त्यसका आधारमा उनीहरुले व्यवसायका क्रममा उत्पादन भएको फोहोर सम्बन्धित संस्थाको समन्वयमा उठाइने छ ।
उत्पादन भएको फोहोर फ्याँक्ने तथा ढडाउने काम बन्द गरेर एकिकृत रुपमा व्यवस्थापन गरिने छ । त्यस बाहेक सडक ढाकेर टेन्ट टाङ्ग्ने र डि.ज. बजाउन कम गर्दै लैजाने सहमति भएको छ । विराटनगरलाई सफा र सुन्दर बनाउन सबैको भूमिका हुने भएकोले टेन्ट व्यवसायीहरु समेत त्यो अभियानमा जोडिएको बताइएको छ ।