विराटनगर । कोशी राजमार्ग अन्तर्गत रानी–दुहबी छलेन सडकमा परेका ढिस्को हटाउँदै टालटुल सुरु गरिएको छ । छलेन सडक आयोजना इटहरीले विराटनगर भन्सार क्षेत्रबाट औद्योगिक कच्चा बोकेका मालवहाक सवारीका कारण भत्केको कालोपत्रे मर्मत सुरु गरेको हो ।
छलेन सडक आयोजना प्रमुख राजेन्द्रप्रसाद साहले ५० लाख रुपैँया बजेटमध्ये ४२ लाख रुपैँयामा मर्मत ठेक्का लागेको छ । ‘कहिं कतै ढिस्को बनेको छ, त्यसलाई उप्काएर नयाँ कालोपत्रे थप्ने काम भईरहेको छ’ प्रमुख साहले भने–भारवहन क्षमता भन्दा बढीका सवारीका कारण सडक बगिरहेको छ ।
मर्मतको काम भईरहेको ठाउँमा समेत पुनः कालोपत्रे उप्किन थालेको छ । छलेन सडकको भारवहन क्षमता गाडीको एक्सलदेखि एक्सलसम्म दश टन भएपनि औद्योगिक कच्चा बोकेर आउने मालवहाकमा ६० टनसम्म मालवस्तु लोड हुने गरेको छ । यसको नियन्त्रण गर्नका लागि नितीगत सुधार तथा प्राविधिक रुपमा तयारी गर्नुपर्ने हुन्छ । भन्सार क्षेत्रमा प्रवेश गरेका मालवहाक सवारीको वजन लिने गरिएको हुन्छ । तर, बढी भार भए त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्राविधिक तयारी छैन ।
भन्सार क्षेत्रमै बढी भार बोकेका सवारीबाट अनलोड गराउन समेत संभव छैन । स्टिल तथा मार्बल उद्योगहरुमा आउने एउटै वस्तुको वजन ५० टन बढी हुन्छ । यति धेरै वजन भएको वस्तु अनलोड गरेर टुक्र ्याउने व्यवस्तथापन छैन । यदि टुक्राउने अवस्था आएपनि भारतबाट ट्रेनमा आएको मालवस्त लरीबाट झारेर अन्य सवारीमा हाल्नुपर्ने अवस्था आए लागत बढ्ने भन्दै उद्योगीहरुले बताउँदै आएका छन् ।
सरकारले भन्सार क्षेत्रबाट आएका औद्योगिक कच्चालाई १५ किलोटिमर दुरीसम्म जानका लागि नरोक्ने परिपत्र गरेपछि ट्राफिकले समेत यस्ता सवारीलाई रोक्न पाउँदैन ।