विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ तोकिएकोमा हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ हुने तोकिएकोमा न्यायाधीश पोखरेलको कारण रिट हेर्न नमिल्नेमा परेको हो ।
न्यायाधीश पोखरेलले यसअघि कोशी सरकारका तत्कालीन मुख्यमन्त्री उद्धब थापाको नियुक्तिविरुद्ध हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटामा कानुन व्यवसायीको हैसियतमा थापाको तर्फबाट सर्वोच्चमा बहस गरेका थिए । नेपाली काँग्रेसनिकट कानुन व्यवसायी रहेका पोखरेलले थापाको पक्षबाट बहस गरेपनि अदालतबाट कार्कीको पक्षमा रिट जारी भएको थियो ।
यसबीचमा पोखरेल सर्वोच्चको न्यायाधीश नियुक्त भए । दलहरुबीच भागबण्डाको आधारमा सर्वोच्चको न्यायाधीश नियुक्त हुँदा पोखरेल पनि परेका थिए । पोखरेल २०८० पुस ४ गर्ते सर्वोच्चको न्यायधीशमा नियुक्त भएका थिए । कानुन व्यवसायी हुँदा हिक्मतकुमार कार्कीको विरुद्ध बहस गरेको कारण न्यायाधीशको रुपमा उनले त्यहि मुद्दा हेर्न नमिल्ने भएको हो ।
न्यायाधीश पोखरेलले यसअघि कोशीकै विवादमा अदालतमा बहस गरेकोले मुद्दा नहेर्ने निर्णय सुनाएका थिए । इजलासमा मुख्यमन्त्री हिक्मतकुमार कार्की पक्षका अधिवक्ता टीकाराम भट्टराईले पोखरेलले मुद्दा हेर्न मिल्ने कि नमिल्ने भनेर प्रश्न उठाएपछि पोखरेलले अन्य न्यायाधीशहरुसँगको छलफलपछि मुद्दाबाट अलग हुने निर्णय लिएका हुन् । यसअघि गत बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको रिटलाई पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । अब अर्को पेशी तोकेर मुद्दाको लागि अर्को इजलास गठन हुनेछ ।