काठमाडौं किर्तिपुरका स्थायीबासिन्दा कालीप्रसाद बास्कोटा नेपाली संगीतका क्षेत्रमा हालका सर्वाधिक व्यस्त गायक तथा संगीतकार हुन् । करिब ८ वर्षअघि शशि रावलद्धारा गाइएको चाहना सकियो, बाहना सकियो बोलको गीतको कम्पोज गरेसँगै बास्कोटा सबैको नजरमा पर्न सफल भए । सानो छँदा नै गायक बन्ने सपनादेखेर अगाडि बढेका बास्कोटाको परिवारबाट संगीतमा होमिन उनलाई अत्यन्तै साथ र सहयोग मिलेको थियो । मेकानिकल इञ्जिनियरिङका विद्यार्थी बास्कोटा, काठमाडौंको तिलगंगा आँखा अस्पतालमा लामो समय विताएपछि पछिल्लो समय नितान्त संगीत क्षेत्रमै आवद्ध भएर उत्कृष्ट सिर्जनाहरु पस्किरहेका छन् । रेशम फिलिलिको जालमा बोलको गीत गाएसंगै उनको गायनमा समेत उत्तिकै व्यस्तता बढेको छ । थोरै गीत गाएरपनि सर्वाधिक व्यस्त गायकमा पर्छन् उनि । मंसिर १० बाट प्रदर्शनमा आउन लागेको चलचित्र पुरानो डुङगाको अहिले निकै नै भाइरल बनिरहेको नीर बोलको गीत तथा लुट २ को भर्खरै सार्वजनिक भएको ठमेल बजार बोलको गीतमापनि गायन, शब्द तथा संगीत पनि बास्कोटाकै रहेको छ । यिनै नेपाली सांगितिक क्षेत्रका नक्षेत्र, गायक तथा कम्पोजर बास्कोटासंग भूमिका पाख्रिनले गरेको कुराकानीको केही अंश ।
१)संगीत क्षेत्रमा प्रवेश कसरी गर्नुभयो ?
सानैदेखि गायक बन्ने सपना थियो, त्यै सपनाले डोहो¥याउदै यहा सम्म आइपुगियो । जहाँ, मेहेनत त आवश्यक पर्छ नै ।
२)अहिलेको चर्चित नीर बोलको गीतको लिरिकल भिडियो युट्युबमा मात्रै ५१ लाख भन्दाबढी हेरिएको छ, कस्तो लागिरहेको छ ?
एकदम खुशी लाग्छ नै, अझै राम्रो गीतहरु कम्पोज गर्ने उर्जा मिलेको छ । लिरिकल भिडियोलाई यति धेरै दर्शकले हेर्नुभएको यो गीत नै सायद पहिलो हुनुपर्छ ।
३)तपाईका गीतहरु अत्यन्तै जनजिब्रोमा झुण्डिने खाल्को हुन्छ । विशेषगरी भनौ, भाइरल नै बन्छ । गीत कम्पोज गर्दा के कुरालाई मुख्य ध्यान दिनुहुन्छ ?
म शब्द चयनलाई प्राथमिकता दिन्छु । सरल तथा सहज, साथै बोलीचालीमा प्रयोग भइरहने शब्दहुँदा दर्शक÷श्रोतालाई समेत मनपर्छ । नेपाली टिपिकल शब्दहरुलाई नयाँपन दिएर नै होला सबैले मनपराइदिनु हुन्छ, खुशी लाग्छ ।
४)तपाईको विचारमा एउटा चलचित्र चल्नलाई अथवा सफल हुनलाई गीत संगीतले कत्तिको प्रभाव पार्छ ?
गीत संगीतलाई सबैले मन पराउनुहुन्छ । गीतमात्रै सुनेका भरमा चलचित्र हेर्नआउनेकाको जमात पनि बाक्लै नै छ, पक्कै पनि चलचित्र चल्नुमा गीतको भूमिका महत्वपूर्ण हुन्छ ।
५)तपाईलाई मनपर्ने तपाईको एउटा मात्र गीत छान्नुपर्दा कुन गीतलाई लिनुहुन्छ ?
आफ्ना हरेक गीत कम्पोज गर्दा या गाउदा उत्तिकै मेहेनत गरिएको हुन्छ, तथापी बुद्धिसागरको फिरफिरेका लागि मैले संगीत तथा स्वर भरेको गीत मलाई असाध्यै मनपर्छ ।
६)पछिल्लो समय कम्पोजका साथै गायनमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ, कसरी गायन पट्टि होमिनु भयो ?
सानो छँदा गायक बन्ने रहर भएपनि मैले कम्पोज पट्टि ध्यान दिए, तथापी रेशम फिलिलिको जालमा बोलको गीतका तयारभएपश्चात गायक पनि खोजे, तर त्यस गीतका लागि मिल्ने स्वर नभेटेकै कारण मैले आफै गाएको हुँ, त्यसगीतलाई सबैले मनपराइदिनु भएपछि गायन पट्टिपनि सक्रिय भएको हुँ, तथापी म सर्वप्रथम संगीतकार नै हुँ, अनि मात्रै गायक ।
संगीत क्षेत्रमा तपाई सबैभन्दाबढी को बाट प्रभावित हुनुहुन्छ ?
नेपाली सांगीतिक क्षेत्रमा नाम लिनु पर्दा न्ह्यूँ बर्जाचार्य, गोपाल योञ्जन लगायतलाई म सम्झन चाहान्छु, उहाँहरुबाट प्रभावित छु ।
नेपाली संगीतलाई अझैमाथि उठाउन के कुरा आवश्यक छ ?
नेपाली संगीतलाई माथि उठाउन रोयल्टी महत्वपूर्ण कुरा हो, सर्जकले सिर्जना गरेपछि रोयल्टी पाउनुपर्छ । अवार्ड वितरण गर्दा अवार्डले दिने भनेको सर्जकलाई हौसला मात्रै हो । त्यसैले रोयल्टी पाउने वातावरण सिर्जना हुनुपर्छ ।
अन्त्यमा आफ्ना शुभचिन्तकलाई के भन्न चाहानुहुन्छ ?
मलाई जसरी अहिले साथ दिनुभएको छ, माया दिनुभएको छ, यसलाई निरन्तरता दिनुहोला । म अझै राम्रा नेपाली गीतहरु तपाईहरुमाझ ल्याउनेछु । नेपाली गीतसंगीतलाई माया गरिदिनुहोला । सबैलाई धन्यवाद ।