देवराज तामाङ
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो ट्राफिक लाइट बरगाछी चौकमा अबको एक हप्ताभित्रमा सञ्चालनमा आउने भएको छ। बरगाछी चौकमा जडान गरिएको ट्राफिक लाइट पूर्ण सञ्चालनमा ल्याउनका लागि त्यसको प्राविधिक पक्षको तयारी थालिएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको बजेटमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा ट्राफिक लाइट जडान गरिएको हो।
परीक्षण सफल भए पनि यो पूर्ण सञ्चालनमा आउन अझै ७ दिन लाग्ने अनुमान गरिएको छ। जेब्राक्रस निर्माण र ट्राफिक लाइट सम्बन्धि प्राविधिक तालिम लिएपछि मात्र यो पूर्ण सञ्चालनमा आउने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए। यद्यपि, उक्त ट्राफिक लाइटको सिग्नल कन्ट्रोल कसले गर्ने भन्ने विषय अझै स्पष्ट भइनसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रदेशको राजधानी भएर पनि विराटनगर यसअघि ट्राफिक लाइटविहीन थियो। अब भने कोशी प्रदेशको ट्राफिक लाइट जडान गरिएको तेस्रो सहरको रूपमा विराटनगरलाई चिनिनेछ। यसअघि इटहरी र दमकमा ट्राफिक लाइट जडान भइसकेको छ।
बढ्दो सवारी साधनको चापले गर्दा यातायात व्यवस्थापन जटिल बन्दै गएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार, विराटनगर महानगरपालिकाभित्र दैनिक करिब ९५ हजार सवारी साधन गुड्ने गरेका छन्। यी सवारी साधनको व्यवस्थापनका लागि दैनिक ४० जना ट्राफिक प्रहरी खटिने गरेको कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए।
विराटनगरको रोडशेष, महेन्द्र चोक, शनि मन्दिर, बरगाछी, कन्चनबारी, जलजला चोक, हस्पिटल चोक र तीनपैनी चोकमा ट्राफिक लाइटको तत्काल आवश्यकता रहेको न्यौपानेले बताए। विराटनगर महानगर र ट्राफिक प्रहरीले सिटी सफारी व्यवस्थापन गर्न नसक्दा समेत ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।
जडान हुन्छ, नियमित हुँदैन
विस २०७९ सालमा इटहरीको मुख्य चोकमा रहेको ट्राफिक लाइट कहिले बल्ने त कहिले बन्द हुने हुँदा यात्रुहरू झुक्किने गरेको गुनासो गर्दछन् । त्यसैगरी दमकमा समेत निर्माण गरिएको ट्राफिक लाइटको नियमन गर्ने निकायले हेरचाह र मर्मत नगर्दा त्यसै इटहरीमा जस्तै समस्या उत्पन्न भएको थियो। इटहरी र दमकमा देखिएका समस्याहरूलाई ध्यानमा राख्दै, स्थानीयहरूले विराटनगरमा पनि ट्राफिक लाइटको नियमित मर्मत र हेरचाहको आवश्यकता औंल्याएका छन्।
मुख्य चोकमा ट्राफिक लाइटको अवस्था र संकेत अनुसार सवारी चलाउने र बाटो काट्ने गर्नुपर्छ । रातो बत्ती बल्दा रोकिने, पहेंलो बत्ती बल्दा दायाँबायाँ हेरेर विचार गर्ने र हरियो बत्ती बलेपछि लाइट संकेत देखाएको दिशातर्फ सवारी गुडाउने यो ट्राफिक लाइटको सामान्य तथा सर्वमान्य नियम हो ।
विराटनगरका पाँच स्थानमा थपिदैंछन् ट्राफिक लाइट
विराटनगरको पाँच स्थानमा थप ट्राफिक लाइट जडान गर्न सम्झौता हुने अन्तिम चरणमा रहेको र भदौ १ गतेदेखि ट्राफिक लाइट जडानको कार्य सुरु हुन सक्ने विराटनगर महानगरपालिकाले जनाएको छ। कन्चनबारी, शनि मन्दिर, रोडशेष, जलजला चौक र तिनपैनीमा ट्राफिक लाइटको लागि उपयुक्त स्थान महानगरले छनोट गरेको छ।
बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ः३० बजेदेखि बेलुका ६ बजेसम्मको समयमा विराटनगरको सडक अत्याधिक व्यस्त हुने गरेको छ। यस समयमा लामो जाम र दुर्घटनाको जोखिम समेत बढेको ट्राफिक प्रहरीले जनाएको छ। महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा ट्राफिक व्यवस्थापनलाई उच्च प्राथमिकता दिने बताए पनि विगतमा यस्ता योजनाहरू घोषणा भएर कार्यान्वयन नभएको स्थानीयहरूको गुनासो छ। तथापि, विराटनगरको सडकहरुमा छिट्टै नै ट्राफिक लाइट जडान हुने विराटनगर महानगरपालिकाले जनाएको छ। यो नयाँ ट्राफिक व्यवस्थापन प्रणालीले विराटनगरको बढ्दो यातायात चापलाई व्यवस्थित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।